संयुक्त राष्ट्रसङ्घ, असोज ९ गते । चीनले पहिलो पटक विशेष उत्सर्जन कटौतीको प्रतिज्ञा सार्वजनिक गरेको छ । सो अनुसार सन् २०३५ सम्ममा ग्रह-ताप बढाउने हरितगृह ग्यास सातदेखि १० प्रतिशतले मात्र घटाउने लक्ष्य राखिएको छ । तर यो लक्ष्यलाई विश्लेषकहरूले निकै कम भनेका छन् ।
यद्यपि, विशेषज्ञहरुले बेइजिङले प्रायः ‘कम वाचा गर्ने तर बढी पूरा गर्ने’ प्रवृत्ति देखाउँदै आएको बताएका छन् । यस पटकको प्रतिज्ञा जलवायु परिवर्तनविरुद्ध अझ महत्वाकांक्षी प्रयासतर्फको बाटो खोल्ने सङ्केत मानिएको छ ।
-किन यो महत्वपूर्ण ?-
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र सबैभन्दा ठूलो प्रदूषक हो । यस मुलुकले विश्वव्यापी उत्सर्जनको करिब ३० प्रतिशत हिस्सा ओगटेको छ । तर यसैसँगै, यो स्वच्छ ऊर्जा उत्पादनमा अग्रणी छ ।विश्वका अधिकांश सौर्य प्यानल, ब्याट्री र विद्युतीय सवारी चीनमै उत्पादन हुन्छन् । चीनको नीतिले शताब्दीको अन्त्यसम्म तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्रै रोक्न सकिन्छ वा सकिँदैन भन्ने तय गर्नेछ ।
-चीनको नयाँ प्रतिज्ञा-
शुद्ध हरितगृह ग्यास उत्सर्जनलाई शिखर स्तरबाट सातदेखि १० प्रतिशत घटाउने (अझ बढी गर्ने प्रयास गर्ने वाचा) रहेको छ । त्यस्तै गैर-जीवाश्म ऊर्जा उपभोगलाई कुल ऊर्जा खपतको ३० प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य छ । चीनले पवन र सौर्य क्षमता सन् २०२० को तुलनामा छ गुणा विस्तार गरी तीन हजार छ सय गिगावाटमा पुर्याउने प्रतिज्ञा गरेको छ भने वन क्षेत्र २४ अर्ब घनमिटरमा बढाउने तय गरेको छ ।
त्यस्तै नयाँ बिक्रीमा विद्युतीय सवारीलाई ‘मुख्यधारा’ बनाउने र राष्ट्रिय कार्बन व्यापार योजना विस्तार गरी उच्च उत्सर्जन क्षेत्रलाई समेट्ने र ‘जलवायु अनुकूल समाज’ स्थापना गरिएको छ ।
-विज्ञहरूको धारणा-
विशेषज्ञहरूले यी लक्ष्यहरूलाई सामान्य ठाने पनि चीनको स्वच्छ प्रविधिमा लगानी र क्षमताका कारण वास्तविक परिणाम कागजी लक्ष्यभन्दा धेरै हुने अपेक्षा गरिएको छ । “चीनले प्रायः कम वाचा गर्छ तर बढी पूरा गर्छ”, एडभोकेसी समूह ३५० ओआरजीका एन्ड्रियास सिबरले भन्नुभयो । ग्रिनपिस पूर्वी एसियाका याओ जेले पनि चीनको वास्तविक डिकार्बोनाइजेशन लक्ष्यभन्दा बढी हुने आशा व्यक्त गर्नुभयो ।
चीनले नवीकरणीय ऊर्जा स्थापनामा विश्वलाई पछाडि पार्दैछ, तर कोइला क्षमता विस्तार गर्न जारी राखेको र उत्सर्जन घटाउने आधार वर्षलाई स्पष्ट नगरेको विषयले चिन्ता बढाएको विश्लेषकहरूको भनाइ छ । यद्यपि, पर्यवेक्षकलाई चीनको अर्थतन्त्र अब ऊर्जा सङ्क्रमणतर्फ बाध्यतापूर्वक अघि बढिरहेको छ भन्ने विश्वास छ । एसिया सोसाइटीका ली शुओले भन्नुभयो, “राम्रो समाचार यो हो-आफ्नो स्वार्थका कारण भएपनि, चीन अहिले जलवायु कार्यलाई अगाडि बढाउन सबैभन्दा बलियो अवस्थामा छ ।” रासस/एएफपी