प्रेम अधिकारी
पशुपतिनगर (इलाम), असोज ९ गते । इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरिएको छ । बिहीबार फिक्कल बजारमा सञ्चालित ११ वटा किराना पसलमा अनुगमन गर्दा ४१ प्रकारका ६१ हजार नौसय २५ रुपियाँ बराबरको अखाद्य वस्तु जफत गरिएको हो ।
सूर्योदय नगरपालिकाको बजार अनुगमन समितिले सुरु गरेको अनुगमनका क्रममा फिक्कल बजारमा झापा र भारतबाट आएर हटियाको दिन व्यापार गर्ने व्यापारीले सञ्चालन गरेको पसलमा म्याद गुज्रिएका र लेबलिङ नभएका बस्तु जफत गरिएको अनुगमन समितिका संयोजक नवीन ढकालले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा खुल्ला रुपमा बिक्रीका लागि राखिएको सुर्ती, भोला, मधु, चुरोट, मिठाई, गरम मसला, पापड, बिस्कुट, मुराई लगायतका ४१ प्रकारका वस्तु जफत गरिएको छ । झापाबाट र छिमेकी देश भारतबाट हटियाको दिन खाद्य सामग्री लिएर आएर बजारमा पसल सञ्चालन गर्ने व्यापारीले पसल दर्ता तथा नवीकरणसमेत नगरेको पाइएको छ ।
यस्ता पसललाई सात दिनभित्रमा दर्ता, नवीकरणको कागजात नगरमा पेश गर्न निर्देशन दिएको संयोजक ढकालले जानकारी दिनुभयो । सूर्योदय नगरपालिकामा नगर उपप्रमुख दुर्गाकुमार बरालको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति गठन गरिएको छ ।
सो समितिको मातहतमा बजार अनुगमन समिति निर्माण गरिएको छ । उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक बरालले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने अखाद्य वस्तु बिक्री गर्ने गरिएको गुनासो आइरहने भएकाले नगरले नियमिति अनुगमन गर्दैआएको जानकारी दिनुभयो । फिक्कल बजार पर्यटकीय क्षेत्र तथा इलाम जिल्लाकै हालको चलायमान बजारको रुपमा छ ।
अनुगमनका क्रममा सीमा तथा अध्यागमन कार्यालय पशुपतिनगरका प्रमुख होमनाथ पोख्रेल, फिक्कल प्रहरी चौकीका प्रमुख विष्णु सापकोटा, सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन पौडेल, ट्राफिक प्रहरी, नगर प्रहरीलगायतको सहभागिता थियो । समितिले मुचुल्का उठाएर जफत गरेका सामग्री अनुगमन सकिएपछि नगरको डम्पिङसाइटमा लगेर नष्ट गर्ने नगरपालिकाले जनाएको छ ।