नवीनराज कुइँकेल
लमजुङ, असोज ९ गते । दशैं सुरु भएसँगै लमजुङमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । दशैं–तिहारलगायत चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनाहरु न्युनीकरण गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी वल बेसबाट तयार गरेको चाडपर्वलक्षित विशेष सुरक्षा योजनाका विषयमा बृहत छलफल गरी सोहीअनुसार कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
चाड पर्वका नाममा अनावश्यक भिड गर्ने, होहल्ला गर्ने तथा मदिरा सेवनगरी समु्दायमा अनावश्यक खलल् ल्याउनेजस्ता गतिविधि नियन्त्रणका लागि सादा पोषाकमा सुरक्षाकर्मी खटाइएको समितिले जनाएको छ । हाल जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहे पनि सम्भावित अपराध तथा घटनाहरु रोकथाम तथा नियन्त्रणका लागि विशेष योजना बनाएको र नागरिक पनि आँफै संयम् भएर चाड पर्व मनाउनुपर्ने लमजुङका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेलले बताउनुभयो ।
जिल्लाको शान्ति सुरक्षामा प्रतिकुल असर पर्नेगरी अवाञ्छित गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ । सोसँगै दशै तिहारको बेला जुवा, तास खेल्ने–खेलाउने लगायतका गैर कानुनी गतिविधि हुन नदिन सुरक्षा निगरानी बढाउने प्रशासनले जनाएको छ ।
चाडपर्वलाई लक्षित गरेर साविकभन्दा सुरक्षा व्यवस्था अलि कडा पारिएको सुरक्षा समितिले जनाएको छ । त्यसैगरी चाडपर्वका बेला मूल्यबृद्धि, कालोबजारी, मिसावटयुक्त खाद्य पदार्थ बेचविखनजस्ता गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले सार्वजनिक सूचनामार्फत त्यस्ता गतिविधि भएको पाइएमा सुरक्षा निकायलाई सूचना दिन आग्रह गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङले दशैं–तिहारलगायत चाडपर्वका बेला हुनसक्ने घटनालाई मध्यनजर राख्दै जिल्लाका विभिन्न स्थानमा सुरक्षा निगरानी बढाएको जनाएको छ । जिल्लाका बजार क्षेत्र र ग्रामीण भेगमा पनि अवाञ्छित गतिविधि हुनसक्ने भन्दै प्रहरीले कडा निगरानी गरेको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।
चाडपर्व नजिकिएसँगै जिल्लास्थित ट्राफिक प्रहरीले पनि सवारी साधन चेकजाँचमा कडाइ गर्दैआएको छ । ट्राफिक प्रहरीले दिउँसो तथा रातिको समय सवारी चेकजाँचलाई निरन्तरता दिएको हो । विशेषगरी रातिको समयमा मदिरा सेवनगरी सवारीसाधन चलाउने र दुर्घटनाको जोखिम बढी भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि चेकजाँचमा कडाई गरेको ट्राफिक प्रहरीले जनाएको छ ।