जेरुसेलम, असोज ९ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार संयुक्त राज्य अमेरिकाको भ्रमणअघि प्यालेस्टिनी राज्यलाई मान्यता दिने पश्चिमी नेताको आलोचना गर्नुभएको छ ।
उहाँले वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने र शुक्रबार संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्ने तयारी गर्नुभएको छ । उहाँको टिप्पणी हालै फ्रान्सको नेतृत्वमा महासभाको साइडलाइनमा आयोजित विशेष शिखर सम्मेलनपछि आएको हो । उक्त सम्मेलनमा पश्चिमी सरकारले झन्डै दुई वर्ष लामो गाजा युद्धको पृष्ठभूमिमा प्यालेस्टिनी राज्यलाई मान्यता दिएका थिए ।
“महासभामा म हाम्रो सत्य बोल्ने छु-इजरायली नागरिक, सैनिक र राष्ट्रको सत्य । म ती नेताको निन्दा गर्नेछु, जसले हत्यारा, बलात्कारी र बालबालिकालाई जलाउनेलाई इजरायलको हृदयमै राज्य दिन चाहन्छन् । यस्तो कहिल्यै हुने छैन”, नेतान्याहुले बेन गुरियन विमानस्थलमा प्रस्थानअघि भन्नुभयो ।
बुधबार उहाँले बेलायत र फ्रान्ससहितका मान्यतालाई ‘प्यालेस्टिनी आतङ्कवादप्रति केही नेताको लाजमर्दो आत्मसमर्पण’ भन्नुभएको थियो र यसले इजरायललाई बाध्य नगर्ने बताउनुभएको थियो । वासिङ्टनमा ट्रम्पसँग चौथो पटक भेट गर्ने बताउनुभएका नेतान्याहुले युद्धका लक्ष्यबारे ‘हाम्रा सबै बन्धकलाई फिर्ता ल्याउन, हमासलाई पराजित गर्न र शान्तिको दायरा विस्तार गर्न’छलफल गर्ने बताउनुभयो ।
अमेरिकी दूत स्टिभ विटकफले ट्रम्पले अरब र इस्लामिक मुलुकलाई ‘गाजा सम्बन्धी २१-सूत्रीय शान्ति योजना’ प्रस्तुत गरेको बताउनुभयो । उहाँले विस्तृत विवरण नदिए पनि उक्त योजना इजरायल र क्षेत्रीय छिमेकीको चिन्तालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । “हामी आशावादी छौँ र निकट भविष्यमा कुनै सफलता घोषणा गर्न सक्नेछौँ”, उहाँले महासभाको साइडलाइनमा भन्नुभयो ।
यसैबिच, गाजामा इजरायली हवाई आक्रमणले बिहीबार कम्तीमा ११ जनाको ज्यान लिएको क्षेत्रीय नागरिक रक्षा प्रवक्ताले एएफपीलाई बताएका छन् । हालैका हप्तामा इजरायली सेनाले गाजा सहरमा भूमि आक्रमण तीव्र पारेपछि लाखौँ मानिसलाई विस्थापित हुन बाध्य बनाएको छ । रासस/एएफपी