• ९ असोज २०८२, बिहिबार

जेनजी आन्दोलनबाट सप्तरीमा ७६ करोडभन्दा बढी क्षति

blog

सप्तरीस्थित तोडफोड र आगजनी गरिएका पार्टी कार्यालयहरु । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), असोज ९ गते । जेनजी आन्दोलनका क्रममा सप्तरीमा भएको तोडफोड र आगजनीबाट ७५ करोड ४५ लाख दुई हजार ८३ रुपियाँ बराबरको क्षति भएकाे छ ।

जिल्लाका विभिन्न स्थानमा रहेका नेपाली काँग्रेस, नेकपा एमाले, जसपा नेपाल, जनमत पार्टी, नेकपा मओवादी केन्द्र लगायतको पार्टी कार्यालयका साथै केही नेता, जनप्रतिनिधिहरुको घरमा तोडफोड र आगजनी हुँदा एक करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको प्राप्त तथ्याँकले देखाएको छ ।

आन्दोलनको क्रममा राजविराजस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनीबाट सबैभन्दा बढी ३२ लाख ६२ हजार पाँच सय मूल्य बराबरको सम्पती नष्ट भएको छ । जनमत पार्टीको जिल्ला कार्यालयमा १७ लाख २८ हजार सात सय ५० र कञ्चनरुप नगरपालिका स्थित नेकपा एमाले पार्टी कार्यालयमा १४ लाख ५३ हजार पाँच सय रुपियाँको क्षति भएको हो ।

राजविराजस्थित जसपा नेपालको जिल्ला पार्टी कार्यालयमा १० लाख ६३ हजार सात सय ६५ तथा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताको घरमा भएको तोडफोड र आगजनीबाट १० लाख रुपियाँ बराबरको सम्पति नष्ट भएको छ ।

नेकपा मओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा पाँच लाख ५० हजार तथा नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा ४ लाख ४१ हजारको सम्पती तोडफोड र आगजनीबाट क्षति भएको प्राप्त विवरणमा उल्लेख छ ।

यस्तै, माओवादी नेता एवं पुर्व मन्त्री उमेश यादको घरमा तोडफोडबाट पाँच लाख, एमाले नेता सुमन प्याकुरेलको घरमा एक लाख ४१ हजार र सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण ढकालको घरमा भएको तोडफोडबाट पाँच हजार गरी कूल एक करोड एक लाख ४५ हजार १५ रुपियाँ मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

अहिलेसम्म प्राप्त क्षति विवरण अनुसार जिल्लास्थित पालिका र सरकारी कार्यालयमा ७५ करोड ४५ लाख हजार ८३ रुपियाँसमेत गरी जेनजी आन्दोलनका क्रममा सप्तरीमा कूल ७६ करोड ४६ लाख ४७ हजार ९८ रुपियाँ बराबरको क्षति भएको उहाँले बताउनुभयो ।

आन्दोलनको क्रममा घुसपैठ गरेका केही व्यक्तिले व्यक्तिगत एवं रानीतिक प्रतिशोध साध्न पनि सरकारी कार्यालयका साथै पार्टी कार्यालय तथा जनप्रतिनिधिको घरमा समेत तोडफोड र आगजनी गरेको नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डलले बताउनुभयो ।