• ९ असोज २०८२, बिहिबार

रिडीमा प्रहरी पुस्तकालय स्थापना

blog

रमेश विश्वकर्मा 

गुल्मी, असोज ९ गते । जिल्ला प्रहरी कार्यालय गुल्मी अन्तर्गत रहेको इलाका प्रहरी कार्यालय रिडीमा प्रहरी पुस्तकालय स्थापना गरिएको छ । प्रहरीको कार्यकुशलता, अध्ययनशीलता र सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले यहाँ पुस्तकालय स्थापना गरिएको हो । 

नव–प्रवर्तनीय कार्यक्रम अन्तर्गत स्थापना गरिएको “प्रहरी पुस्तकालय” लागि आर्थिक वर्ष २०८१-८२ को बजेटबाट फर्निचर तथा पूर्वाधार निर्माण गरिएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले “प्रहरी पुस्तकालय”को उद्घाटन गर्नुभयो । 

त्यस अवसरमा उहाँले पुस्तकालयको स्थापनाबाट प्रहरी सङ्गठनमा अध्ययन गर्ने बानीको विकास हुनुका साथै नागरिकप्रति उत्तरदायी सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरी कर्मचारीहरुलाई फुर्सदको समयमा अध्ययनको अवसर प्रदान गर्ने र व्यावसायिक दक्षता अभिवृद्धिमा पुस्तकालय थप उपयोगी हुने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । 

पुस्तकालय स्थापनाका लागि स्थानीय रुरुक्षेत्र गाउँपालिका, छत्रकोट, सत्यवती र कालीगण्डकी गाउँपालिकाको सहयोग रहेको थियो । यस जिल्लामा पहिलो पटक इलाका प्रहरी कार्यालय रिडीले पुस्तकालय स्थापना गरेको हो ।

पुस्तकालयमा विभिन्न कानुनी, धार्मिक, साहित्यिक कृतिका अतिरिक्त ७०० भन्दा बढी पुस्तक छन् । आगामी दिनमा आवश्यक पुस्तकहरु थप गरिने इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक कपिल शाहीले बताउनुभयो ।