• ९ असोज २०८२, बिहिबार

अपि हिमाल क्षेत्रमा माउन्टेन गाइड तालिम

blog

फाइल तस्बिर

काठमाडौँ, असोज ९ गते । सुदूरपश्चिमको अपि हिमाल क्षेत्रमा प्रोफेसनल माउन्टेन गाइड तालिम सम्पन्न भएको छ । यसै साता आयोजना गरिएको तालिमको क्रममा प्रशिक्षक र प्रशिक्षार्थीसहित तीन जना दुर्घटनामा परी घाइते भएका थिए ।

इन्टरनेशनल फेडेरेसन अफ माउन्टेन गाइड एसोसिएसन (आइएफएमजिए) ले तोकेको पाठ्यक्रमलाई बेवास्ता गरी तालिमको आयोजना गरेकाले माउन्टेन गाइडमा नकारात्मक असर पारेको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजिए) का अध्यक्ष तुलसी गुरुङको भनाइ छ । 

हाल विश्वभर आइएफएमजिएले तोकेको पाठ्यक्रमबाट माउन्टेन गाइड उत्पादन गरिँदै आएको अध्यक्ष गुरुङले बताउनुभयो । यो संस्था सन् १९६५ मा स्थापना भएको हो । सन् २०१२ देखि नेपालले समेत यस संस्थाको सदस्य बनेर सोही मापदण्ड अनुसार गाइड उत्पादन गर्दैआएको छ । यस संस्थाले हिमाल आरोहण गर्ने तरिका मात्र नभएर लक्षित जनशक्ति (गाइड) उत्पादन, हिमाल आरोहणको क्रममा आवश्यक पर्ने नयाँ सामग्रीहरूको उत्पादन र गुणस्तर मापन गर्दैआएको छ ।

तालिम प्राप्त अनुभवी माउन्टेन गाइड भए मात्र सुरक्षित आरोहण हुने भएकाले यसमा राज्यको तर्फबाट समेत नियमन बढाउनु पर्ने आरोही लाक्पा शेर्पाको भनाइ छ । हाल नेपालसहित विश्वका २६ वटा देशहरूको पर्वतारोहीबाट गठित सङ्गठनले पाठ्यक्रम तयारी गरी तोकिएको मापदण्ड पूरा गरेर उत्तीर्ण भएपछि माउन्टेन गाइड लाइसेन्स दिँदैआएको छ । 

अग्ला हिमालमध्ये ८ वटा हिमाल नेपालमै रहेकाले प्रत्येक वर्ष ६० भन्दा बढी देशका एक हजारको हाराहारीमा आरोहीहरू नेपाल आउने गरेको तथ्याङ्क छ । तर सुरक्षित आरोहणमा चुनौती हुन थालेकाले दक्ष माउन्टेन गाइड तालिम र गाइडको सङ्ख्यालाई वृद्धि गर्नुपर्ने पर्यटन व्यवसायी ङावा ङिमा शेर्पा बताउनुहुन्छ ।

अनुभव र दक्षताको अभाव हुँदा सुदूरपश्चिमको दार्चुलास्थित अपि हिमाल क्षेत्रमा रहेको ६ हजार ३९६ मिटर अग्लो ल्या ह्युल हिमाल (भभया चुचुरो) मा प्रोफेसनल माउन्टेन गाइड तालिम सञ्चालनका क्रममा प्रशिक्षक सञ्जीव गुरुङ, ङवाङ तेन्जिङ शेर्पा लगायत तीन जना घाइते भएका थिए । गाइड उत्पादनमा एकरूपता नभए हिमाल आरोहण सुरक्षित नहुने र विश्वले मानेको पाठ्यक्रम नेपाल सरकारले लागु गर्न कन्जुस्याइँ गर्न नहुने उहाँको सुझाव छ ।

आइएफएमजिएमा नेपालसहित हिमाल भएका विश्वका २५ वटा देश आबद्ध छन् । यसका सदस्य राष्ट्रहरूमा अर्जेन्टिना, अस्ट्रिया, बोलिभिया, क्यानडा, चिली, चेकरिपब्लिक, क्युअडोर, फ्रान्स, जर्जिया, जर्मनी, इटाली, जापान, काजकिस्तान, न्यु जिल्यान्ड, नर्वे, पेरु, पोल्यान्ड, स्लो भाकिया, स्लोभानिया, स्पेन, स्विडेन, स्वीजरल्याण्ड, बेलायत, अमेरिका, पूर्वी युरोप माउन्टेन गाइड एसोसिएसन आबद्ध छन् ।