गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १५ गते । संस्कृति, कला, भाषामा समुदायको अस्तित्व देख्नुहुने सेलो गीतकार फूलकुमार बम्जन हाल आफ्नो सपनालाई साकार पार्ने लयमा मेहनत गरिरहनुभएको छ । सिन्धुली कमलामाई–२, खोल्मेडाँडाका बम्जनलाई समुदायको अस्तित्वसँग जोडिएका सामग्री बाजा, पुस्तकलाई डोकोभरि सजाउनुभएको छ ।
नेपाली सेनाको जागिरबाट अवकाश प्राप्त जीवनलाई समुदायको मौलिकता झल्काउने थुप्रै थान वस्तु खोज्न र संरक्षण कार्यमा लगाउनुभएको छ, अहिले । जसमध्ये तामाङ संस्कृतिका अभिन्न अङ्ग बाजा, पुस्तक, अग्रजका तस्बिरहरू प्रमुख छन् । समुदायमा प्रचलित र गाउँको मौलिक स्वादका खाना पस्कने ‘तामाङ कुताप धिम’को सञ्चालनसँगै बम्जन अमूर्त सम्पदाको प्रवद्र्धनका लागि पर्नुभएको हो ।
स्वयम्भू विजेश्वरीस्थित कुताप धिममा प्रवेश गर्नेलाई मौलिक खानाको बास्नासँगै सङ्ग्रहालय गएको अनुभव हुने गरी सजाउनुभएको छ, उहाँले । तामाङ समुदायको जन्मदेखि मृत्यु संस्कारमा समेत प्रयोग हुने टटेलाको फूलसहित ढ्याङ्ग्रो, टुङ्ना, डम्फु, पेरुङ्गो, डालो, मदानी, खुर्पेटो, ठेकी, नाङ्लो, ओखल, ढिकी, जाँतो, डोको, थुन्चेले गाउँको झल्को मेटाउँछ, त्यहाँ पुग्नेको ।
दुई दर्जन सेलो गीत गाउनुभएका बम्जनले करिब सयवटा सेलो भाकाको गीत रचना गरिसक्नुभएकोे छ । सामाजिक सञ्जालमार्फत पनि जागरणकै आवाज बुलन्द पार्दै आउनुभएको छ । हाल गाउँघर र समुदायमै प्रयोग हुन छोडेको वस्तु, बाजागाजालाई कुदाप धिममा सजाउनुको उद्देश्यबारे उहाँ भन्नुहुन्छ, “हाम्रा छोराछोरीलाई समेत नौलो भइसकेका यस्ता सामग्रीलाई यहाँ खाना खान आउनेलाई बुझाउन पाउनु पहिचानको प्रवद्र्धन गर्नु हो, हाम्रो अस्तित्व यिनै सामग्रीका कारण अलग र विविधतामा पनि परिचित हुने माध्यम रहेछन्, त्यसैले सम्पदाको संरक्षणलाई व्यवसायसँगै जोडेर आफू पनि बाँच्ने र अमूर्त सम्पदालाई बचाउने सानो प्रयास थालेको छु ।”
विश्वव्यापीकरणको असरबाट हामी अछुतो छैनौँ, विदेशका खाना, पहिरन र अन्य सामग्रीको प्रयोगमा रमाउने यो समयमा हाम्रो अस्तित्व खतरामा परेको छ, सदियाँैदेखि हाम्रो जीवनपद्धतिसँग साथ रहेका सामग्रीलाई भुल्दै गयौँ भने नेपाली समुदायको विविधता केमा खोज्ने ? सेलो गीतकार बम्जन प्रश्न गर्नुहुन्छ ।
विविध जात–जाति, धर्म सम्प्रदाय भएर पनि मिलेर बसेका नेपालीको जातीय विविधताका कला, बाजागाजालाई व्यवसायमुखी बनाउन राज्यको ध्यान जाने हो भने नेपाली रोजगारीका लागि अन्य देश गइरहनुपर्ने बाध्यतामै कमी आउने उहाँ दाबी गर्नुहुन्छ ।
समुदायसँग सम्बन्धित पुस्तक, समुदायका अग्रज अभियन्ता, सर्जक, योद्धा, शहीदको तस्बिर पनि राख्नुभएको छ । त्यहाँ जङ्गवीर तामाङ, सन्तवीर पाख्रिन, बुद्धिमान मोक्तान, पारिजात, शहीद पोक्ची तामाङ तुलाराम तामाङ र गायक÷गायिका गोपाल योञ्जन र अरुणा लामालगायतका तस्बिरले समग्र क्षेत्रको योगदानलाई सम्झाउँछ ।
सहरमा परिकारको विविधतामा कमी छैन, ती सामग्रीका कारण त्यहाँ आउनेले संस्कृतिसहित गाउँले जीवनशैलीमा प्रयोग गरिने विविध सामग्रीका उपयोग र महìवबारे थप ज्ञान पाएका छन् भने नौलो वातावरणमा जन्मदिन मनाउन, साथीभाइको जमघट र विदेशी पाहुनालाई नेपाली स्वादका साथै सम्पदालाई चिनाउन पाउँदा सर्वसाधारणको आकर्षणको थलो ‘कुदाप धिम’ बनेको बम्जनको अनुभव छ । तामाङ भाषाको साहित्यिक गतिविधि गर्ने ‘तामाङ डाजाङ’ मञ्चका अध्यक्षको जिम्मेवारीमा रहनुभएका बम्जनले समुदायको मूर्त-अमूर्त सम्पदाको संरक्षणलाई आफ्नो लक्ष्यका रूपमा लिनुभएको छ ।