वालिङ समाचारदाता
स्याङ्जा, असोज ९ गते । पछिल्ला केही दिनदेखि सिद्धार्थ राजमार्ग भएर ओहोरदोहार गर्ने सवारीसाधनको सङ्ख्या बढेको छ । मुग्लिङ–नारायणगढ सडकखण्ड अस्तव्यस्त भएसँगै पश्चिम जाने यात्रु र सवारीसाधनको रोजाइमा सिद्धार्थ राजमार्ग परेको हो ।
सवारीसाधन र यात्रुको चाप बढेसँगै सिद्धार्थ राजमार्गका ठाउँ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले आउँदै गरेका चाडपर्वलक्षित यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएका हुन् । सिद्धार्थ राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधनमा यात्रा गर्ने यात्रुको सहजताका लागि जिल्ला सदरमुकाम स्याङ्जा, वालिङ, गल्याङ, भिरकोटलगायतका ठाउँमा सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
चाडबाडका बेला यात्रुको चाप बढ्ने र यात्रुलाई सहज र सुरक्षित यात्रा गराउने लक्ष्य अनुसार ट्राफिक प्रहरीले राजमार्गसहित भित्री सडकमा यात्रु सहायता कक्ष स्थापना गरिएको न्यौपानेको भनाइ छ । यात्रुले सुरक्षित र सहज यात्रा गर्न पाऊन् भनेर सहायता कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला सदरमुकाममा स्थापना गरिएको यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शुभारम्भ गर्नुभएको हो । चाडबाडका बेला यात्रुलाई ठग्ने, महँगो भाडा लिने, असुरक्षित यात्रा गराउनेलगायतका कानुनविपरीत कार्य रोक्न यात्रु सहायता कक्षले भूमिका खेल्नेमा आफू विश्वस्त रहेको प्रजिअ अर्यालले बताउनुभयो ।
यात्रु सहायता कक्ष स्थापना
तनहुँ समाचारदाताका अनुसार दसैँतिहारका अवसरमा यात्रुको सहज आवागमन र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय तनहुँले यात्रु सहायता कक्ष स्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सदरमुकाम दमौली, डुम्रे, आँबुखैरेनी, पुलजिप, बेलचौचार र भिमाद गरी छ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले यात्रु सहायता कक्षमार्फत यात्रुलाई आवश्यक जानकारी, सहयोग र सुरक्षासम्बन्धी सुविधा उपलब्ध गराइने बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँतिहारमा यात्रुको चाप बढ्ने भएकाले दुर्घटना नियन्त्रण, अपराध न्यूनीकरण र सहज आवागमनका लागि यात्रु सहायता कक्ष सञ्चालन गरेका छौँ । सुरक्षित र व्यवस्थित यात्रा सबैको साझा चाहना हो, त्यसमा सहयोग पु¥याउने हाम्रो उद्देश्य हो ।”
मुक्तिनाथ समाचारदाताका अनुसार यात्रुको चापलाई ध्यानमा राखेर मुस्ताङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका लागि लामो तथा छोटो यात्रामा हिँडेका यात्रुको सुरक्षित यात्रा र ट्राफिक सचेतनाका लागि घरपझोङ गाउँपालिका–३, पुथाङ एयरपोर्टमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका प्रमुख जनक श्रेष्ठले बताउनुभयो । यात्रु सहायता कक्षमा बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत देशका विभिन्न जिल्लाबाट मुस्ताङ भित्रिने तथा बाहिरीने यात्रुलाई सहज हुने प्रमुख श्रेष्ठले बताउनुभयो ।
यात्रु सहायता कक्षले क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा जाँच गर्ने, यात्रुबाट चालक वा यात्रु चालकबाट असुरक्षित भएकोसहित रुट पहिचानमा अलमल पर्ने निजी तथा भाडाका सवारीसाधनलाई समेत सहज हुने गरी सेवा प्रवाह गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल अधिकारीले बताउनुभयो ।