• २८ मङ्सिर २०८२, आइतबार

हटाइयो एक्लेसालको पहिरो

blog

एक्लेसालको पहिरो पन्छाएपछिको मालढुङ्गा–कुश्मीसेरा सडक । तस्बिर : रामकृष्ण बोहोरा

रामकृष्ण बोहोरा 

बागलुङ, असोज ९ गते । बागलुङ नगरपालिकाले पहिरोले झन्डै तीन महिना ठप्प रहेको मालढुङ्गा–कुश्मीसेरा सडक अन्तर्गत बागलुङ नगरपालिका–१०, एक्लेसालको पहिरो पन्छाएको छ । पहिरो पन्छाएपछि सवारी चल्न थालेका छन् ।  

एक्लेसालमा खसेको पहिरोले पछिल्लो पाँच वर्षदेखि दक्षिण बागलुङवासीलाई सास्ती दिँदै आएको थियो । असारदेखि नै निरन्तरको पहिरो खस्ने व्रmम चलेपछि सडक ठप्प थियो । पानी रोकिन लागेपछि नगरपालिका सडक सञ्चालनमा अग्रसर भएको हो । नगरपालिकाले आफ्नै खर्चमा यो सडक खुलाउन लागेको हो । पाँच वर्षअघिदेखि निरन्तर खसेको पहिरो अघिल्ला वर्षको बर्सातमा पनि पटक पटक पन्छाएर सञ्चालन गरिएको थियो । बजेट खर्चिए पनि पहिरोले सडक बगिरहेपछि खर्च धान्न नसकेर यस वर्ष काम भएको थिएन । मालढुङ्गा–कुश्मीसेरा सडक अवरुद्व भएपछि बागलुङ नगरपालिका–१२, १३ र १४ सहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जाने यात्रीले सास्ती खेप्दै आएका थिए । 

वैकल्पिक सडकका रूपमा कालीगण्डकी कोरिडोरको कालाखोलामा गत साउन २४ गते खसेको पहिरोको जोखिम भने हटेको छैन । उक्त सडकखण्डमा पिकअप र जिप मात्र चल्ने गरेका छन् । बस र मालवाहक चल्न नसक्दा बुटवलबाट आउने ट्रकले खाद्यान्नलगायतका सामग्री ढुवानी गर्न सकेका छैनन् । 

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भन्नुभयो, “पहिरोका कारण बलेवाको माथिल्लो भेगका नागरिक, भैरवस्थान मन्दिर जाने पर्यटक र दक्षिण बागलुङवासीलाई निकै दुःख भएको थियो । 

पहिरो पन्छाएपछि दक्षिण बागलुङको यात्रा सहज भएको छ, अब कामना गरौँ सडक अवरुद्ध हुने गरी पानी नपरोस् ।” यात्रीको हित र दसैँमा घर फर्कनेहरू सहज यात्रा गर्न सकून् भनेर सडक खुलाइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।