• २८ मङ्सिर २०८२, आइतबार

घुमाउनेमा फस्टाउँदै तरकारी खेती

blog

आफ्नो बारीमा तरकारी लगाउँदै तथा गोड्दै स्थानीय ।

हिले समाचारदाता 

हिले (धनकुटा), असोज ९ गते  । धनकुटाका धेरै गाउँबस्ती युवाविहीन हुँदा महालक्ष्मी नगरपालिका–१ उच्च क्षेत्रका युवा भने गाउँघरमै भेटिन्छन् । उनीहरू दिनभरि खेतबारीमै व्यस्त रहन्छन् । यो क्षेत्रका स्थानीयलाई न त वैदेशिक रोजगारीको मोह छ न गाउँ छाडेर सुविधा सम्पन्न स्थानमा बसाइँ सर्न चासो छ । यो सबै कारण हो सो क्षेत्रमा हुने तरकारी खेती । यहाँका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत नै तरकारी बाली हो । स्थानीय देवी गुरुङ भन्नुहुन्छ, “हाम्रो सबै आवश्यकता तरकारी खेतीबाटै पूरा भएको छ । त्यसैले विदेश जाने बसाइँसराइ  जाने जस्तो कुरा सोच्नै परेको छैन ।” 

यो वडाका उच्च क्षेत्रका चित्रे, घुमाउने र जोर थुम्की गरी तीन गाउँमा करिब ३५० परिवारको बसोबास छ । सबै कृषक तरकारी खेतीमा लागेका छन् । अन्यत्र कामदारको समस्या हुँदा यहाँ कामदारको समस्या पनि  छैन । यहाँको खेतबारी कहिल्यै बाँझो रहँदैन । यहाँका किसान अर्मपर्म गरेर नै खेती गर्ने गर्छन् । स्थानीय बेनुका गुरुङ भन्नुहुन्छ, “सबैकोमा एकै प्रकारको काम हुन्छ । सबैले काम गर्नै पर्ने हुन्छ । त्यसैले सामूहिक रूपमा काम गर्ने गरेका छौँ ।” 

पहिले पहिले आलु मात्र उत्पादन हुने यो क्षेत्रमा २०६० सालपछि मात्र व्यावसायिक तरकारी खेती हुन थालेको हो । अहिले यहाँ आलुसँगै बन्दा, काउली, मूला र मटरकोसा उत्पादन हुन्छ । यहाँका किसानले वार्षिक पाँच रुपियाँदेखि ३० लाख रुपियाँसम्मको तरकारी बिक्री गर्दै आएका स्थानीय कृषक तथा महालक्ष्मी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर गुरुङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यही क्षेत्रबाट मात्र वार्षिक २० करोड रुपियाँभन्दा बढिको तरकारी निकासी हुने गरेको छ ।” धनकुटामा कुल पाँच हजार ९९७ हेक्टर क्षेत्रफलबाट एक लाख ३७ हजार ४४७ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।