गुलरिया समाचारदाता
गुलरिया (बर्दिया), असोज ९ गते । अक्सिजनको उत्पादन गरी सहज आपूर्ति गर्न बर्दिया अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट एक वर्षदेखि बन्द रहेको छ । अक्सिजन प्लान्ट बन्द हुँदा अस्पतालमा आवश्यक अक्सिजन नेपालगन्जदेखि ल्याउनुपर्ने बाध्यता छ ।
बर्दिया अस्पतालमा कोभिडको दोस्रो लहरको समयमा उत्पादन सुरु भएको अक्सिजन बन्द भएपछि बर्दियावासी नेपालगन्ज अक्सिजन लिन जान बाध्य भएका छन् । उत्पादन हुन छोडेपछि बर्दिया अस्पतालमा अक्सिजन पूर्तिका लागि समस्या परेको छ ।
अस्पतालमा आवश्यक अक्सिजनका लागि नेपालगन्जबाट ल्याउने गरिएको छ । घरमै राखेर अक्सिजन दिनुपर्ने बिरामीका लागि सिलिन्डर बोकेर नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ । अक्सिजन जिल्लामा उपलब्ध नहुँदा अक्सिजनमा आधारित उद्योगसमेत मर्कामा पर्ने गरेका छन् ।
बर्दिया अस्पतालले बिरामीको चाप अनुसार मासिक दुई सय थानसम्म ठुलो सिलिन्डरको अक्सिजन आवश्यक पर्ने जनाएको छ । बर्दिया अस्पतालका मेडिकल रेकर्डर एवं सूचना अधिकारी केशव न्यौपानेले अक्सिजन उत्पादन हुँदा आन्तरिक र बाह्य खपत राम्रैसँग हुने गरेको बताउँदै अहिले अस्पतालले नै नेपालगन्जदेखि ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो । बर्दिया अस्पतालमा अक्सिजनको समस्या भएपछि कोरोनाको समयमा सङ्घीय सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापना भएको थियो ।
सङ्घीय सरकारको करिब ८२ लाख लगानीमा प्लान्ट स्थापना गरिएको थियो भने प्लान्टका लागि १८ लाख रुपियाँ लगानी गरेर भवन निर्माण गरिएको थियो । अक्सिजन प्लान्ट निर्माण भएपछि बर्दिया अस्पतालले करिब ४५ लाख रुपियाँको लागतमा अस्पतालभित्र पाइपलाइन विस्तार गरेको छ ।
उत्पादित अक्सिजन स्टोरका लागि ७५ लिटरका दुई वटा सिलिन्डर जडान गरिएको छ । दैनिक २० एमएम अक्सिजन उत्पादन गर्न सक्ने क्षमता भएको प्लान्ट हाल मर्मतसम्भारका लागि बजेट नहुँदा अलपत्र परेको छ ।
बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेयले अक्सिजन प्लान्ट बजेट अभावमा सर्भिसिङ गर्न नसक्दा बन्द भएको बताउनुभयो । उहाँले करिब छ लाख रुपियाँ प्लान्ट बनाउन लाग्ने बताउँदै प्लान्ट सञ्चालन गर्न विद्युत्लगायत सञ्चालन खर्च अत्यधिक लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्लान्ट सञ्चालन र अक्सिजन खरिद करिब उस्तै पर्ने गरेको छ ।” सङ्घीय सरकारले अक्सिजन प्लान्ट राखेर सञ्चालन र मर्मतसम्भारका लागि रकम उपलब्ध नगराएको बताउनुभयो ।