चितवन समाचारदाता
चितवन, असोज ९ गते । मुग्लिङ–नारायणगढ सडकखण्डमा गत शुक्रबारदेखि पहिरो खस्दा सङ्घीय राजधानी र तराई जोड्ने यातायात अवरुद्ध भएको छ । आइतबार केही घण्टा सञ्चालनमा रहेको सडकमा पुनः मङ्गलबार तुइनखोलामा ठुलो पहिरो आएपछि पूर्ण रूपमा अवरुद्ध भएको हो । मूल सडक नै अवरुद्ध भएपछि राजधानी र पोखरा जोड्ने यातायात रोकिएको छ । ठुलो पहिरो आएपछि पन्छाएर यातायात सञ्चालन गर्न लामो समय लाग्ने भएपछि वैकल्पिक सडकको खोजी गरिएको छ ।
चितवनबाट काठमाडौँ र पोखरातर्फ जाने वैकल्पिक सडक भए पनि ठुला सवारीसाधन भने सञ्चालन गर्न सकिने अवस्था छैन । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले भन्नुभयो, “ठुला सवारीसाधनलाई मुग्लिङ–नारायणगढको बाटोको विकल्प छैन, साना भने चितवनको शक्तिखोर–फिसलिङ भएर जान सक्छन् ।” यस सडकखण्डमा स्कोरपियो, जिप, मोटरसाइकल, भ्यानलगायतका साधन चल्न सक्छन् । ४० किलोमिटर दुरीको यो सडक पूर्वी चितवनको टाँडीबाट शक्तिखोर हुँदै मायाटार इच्छाकामना भएर पृथ्वी राजमार्गको फिसलिङ जान सकिने प्रमुख लामिछानेले जानकारी दिनुभयो ।
यस सडकमार्गबाट राजधानी काठमाडौँ र पृथ्वी राजमार्गमा रोकिएका तराईतर्फ जाने साना साधन यताबाट जान सक्ने उहाँले बताउनुभयो । यो सडकबाहेक मकवानपुरको त्रिभुवन राजपथ
(बाइरोडको बाटो), बल्खु, दक्षिणकाली, सिस्नेरीलगायतको सडक प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
त्यसै गरी पोखरातर्फ जानका लागि नवलपुरको गैँडाकोटबाट कालीगण्डकी कोरिडोर हुँदै डेडगाउँ, कोलादीघाट, भीमाद भएर तनहुँ निस्किन सकिन्छ । डिभिजन सडक कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठले भन्नुभयो, “साना सवारीसाधनले मुग्लिङको पहिरोका कारण रोकिएर बस्न पर्दैन ।” कालीगण्डकी कोरिडोर हुँदै पाल्पा रामपुर भएर सिद्धार्थ राजमार्ग जोडिएर जान पनि सकिने उहाँले बताउनुभयो । यस सडकमा धेरै स्थानमा कालोपत्रे भएकाले साना सवारीसाधन सञ्चालनमा समस्या नभएको उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना प्रकाशित गरी तुइनखोलाको पहिरो पन्छाउन समय लाग्ने भएकाले केही दिन वैकल्पिक राजमार्ग प्रयोग गर्न सूचना प्रकाशित गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भन्नुभयो, “ठुलो पहिरो आएकाले कहिले सञ्चालनमा आउँछ भन्न सकिने अवस्था छैन, सकेसम्म छिटो पन्छाएर सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ ।”
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी आचार्यले १४ हजार घनमिटरभन्दा धेरै पहिरो थुिप्रएका कारण पन्छाउन कति समय लाग्छ भन्ने अनुमान गर्न नसकिएको बताउनुभयो । “सडकमा अहिलेसम्मकै ठुलो पहिरो आएको छ,” उहाँले भन्नुभयो, “पन्छाउने कामलाई निरन्तरता दिएका छौँ तर कति समयमा सकिन्छ भन्न सकिँदैन ।” पहिरो आएलगत्तै प्रमुख जिल्ला अधिकारी अर्याल, प्रहरी प्रमुख गोविन्द पुरीसहितको टोलीले मुग्लिङतर्फ जाँदै गरेका यात्रुलाई फर्काएर नारायणगढमै ल्याएको थियो ।
पहिरो गएका स्थलमा माथिबाट ससाना पहिरो आइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । ठुलो पहिरोको सम्भावना कम रहे पनि झर्न बाँकी रहेका ढुङ्गा पूर्ण रूपमा तल झरिसकेका छैनन् । अझै साना तथा मझौला स्तरका ढुङ्गा झर्न सक्ने सम्भावना रहेको छ । आफू सुरक्षित रहेर निरन्तर पहिरो सफा गर्ने कार्य भइरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।