समाजमा उन्नत विकासका लागि दिगो अर्थिक विकास, शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र जनतामा समानता कायम गर्ने मुख्य लक्ष्य राखेर गरिने उच्च कोटीको नीति निर्माण र कार्यान्वयन गर्ने विधि पद्धति नै राजनीति हो । तर त्यस्तो स्थिति देखिँदैन यद्यपि नेपालमा विक्रम संवत् २०१३ सालमै प्रथम पञ्चवर्षीय योजना लागु भए तापनि र विभिन्न कालखण्डमा धेरै पटक सरकार परिवर्तन र संविधान नै बने तर जनताका मुख्य एजेन्डा र आवश्यकता अनुसार कहिल्यै शासनसत्ताको नीतिनिर्माण योजनामा पर्न नसकेको स्थिति रहिरह्यो । फलस्वरूप पटक पटक शासन व्यवस्था र शासकहरू परिवर्तन भइरहे । शासकले आफू सत्तामा कसरी टिक्ने भन्ने सोच र आफ्ना वरपरका व्यक्तिलाई मात्र रिझाउने काम भइरहे ।
जसको सरकार छ त्यसै खेमाका र त्यसैको वरिपरि गर्ने मानिसहरू मन्त्रालय, अड्डा, अदालत र विभिन्न निकायमा हालीमुहाली गर्ने प्रवृत्ति मौलाइ रह्यो । सर्वसाधारण जनताको वा पिछडिएकाका लागि कोटा वा आरक्षण कायम गरिएका सेवा सुविधामा समेत सर्वसाधारणको पहुँच पुग्न नसक्ने र उनै हुने खानेकै बोलवाला चलिरह्यो । सर्वसाधारणको हुने काम पनि आलटाल गरिदिने र दुःख दिइरहने परम्पराले जरा गाड्यो । विभिन्न निकायले गर्ने गरेको व्यवहार, दुःख र खर्च सम्झेर पनि अड्डा र कार्यालय जान नपरे हुन्थ्यो भन्ने गर्छन् जनता जनार्दन । बुढापाका र पुरानो पुस्ताले भन्ने गरेको सुनिन्थ्यो बरु दैव लागोस् राज्य वा सरकार नलागोस् । यसरी जनता दैवी प्रकोप सहन सक्ने तर सर्वसाधारणले राज्य तथा सरकारको व्यवहार खप्न नसकेको सहजै अनुमान लगाउन सकिन्छ ।
नेपाली जनता विगतदेखि नै पिल्सिएको देखिन्छ । हुन त नेपाली जनताले विभिन्न ज्यादती सहन नसकेर पटक पटक ठुला ठुला बलिदान गरेका धेरै ऐतिहासिक तथ्य छन् तर पनि सत्तामा पुग्नेले आफूले भोगेका दुःख, वेदना र पिर मर्का पूरै बिर्सेर प्रतिशोधको राजनीति गरेको जनताले महसुस गरिरहेका प्रशस्तै उदाहरण पाइन्छन् । जो सत्तामा पुग्यो उही पुस्ता पार्टी तथा सङ्गठनमा पनि एकछत्र रहिरहने र सत्ता तथा सरकारमा पनि आफैँ रहने परिपाटीले एकछत्र रजगज गरेको स्थिति हरेक पटकका सरकारका व्यवहारमा देख्न सकिन्छ । थुप्रै दशकसम्म एउटै व्यक्ति वा समूहले सङ्गठन वा पार्टी कब्जा गर्ने र अरूलाई निषेध गर्ने परम्परा सबै जसो विचारधारा बोकेका समूहका सङ्गठन वा पार्टीले अवलम्बन गर्दै आएकाले तल्ला र पछाडिका पुस्ता एवं भावी पुस्ताले मौका नपाएको स्थितिले समाज तथा राज्यमा पटक पटक द्वन्द्व भइरहेको छ । व्यवस्थामा आमूल परिवर्तन पनि भइरहेका छन् तर जनताको अवस्थामा परिवर्तनको महसुस भएको पाइँदैन । संविधान वा नीति नियम बनाउँदा पनि जसको हातमा बागडोर छ उसैको बाहुल्यता र दबदबा हुने गरी बनाउने गरेको देखिन्छ । नीतिगत भ्रष्टाचारको जालो फैलिएर जनता आक्रान्त देखिन्छन् । अनि विकास पनि अवरुद्ध रहेको देखिन्छ ।
हाम्रो भोगाइ
हाम्रा अग्रजले राणा शासन भोगे, हामीले पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था र गणतन्त्र भोग्यौँ र भोग्दै छौँ भने अहिलेको पुस्ताले बहुदल, गणतन्त्र भोगिरहेका छन् । हरेक जसो व्यवस्थामा शासक र तिनीहरूको अघिपछि हिँड्नेबाहेक र त्यसको प्रत्यक्ष फाइदा लिनेबाहेक कोही सन्तुष्ट भएको देखिँदैन । यद्यपि उत्पीडनमा परेको वर्गले सुधार होला कि भनेर सहनुसहे र शासकका वरिपरि घुम्ने केही जमातलाई बेला बेलामा बोलेर, लेखेर सजग बनाउन खोजे पनि तर समाजमा बेथिति भइरह्यो र भ्रष्टचार मौलाइरह्यो । शासकका वरिपरि घुम्ने र सत्ताको रस्वादन गर्नेले शासकलाई सब ठिक छ भनी गुमराहमा राख्ने काम गरिरहे । हामीले सुनेको कहावत–राजा त्रिभुवनको पालामा जनताले मौसुफ सरकार हामीले एक छाक पेटभरि खान पनि पाएनौँ भन्दा राजा त्रिभुवनले ए ! दुध र भात पनि खान पाएनौ ? भनेर जनतालाई सोधेका थिए रे ! किनकि शासनसत्ताको वरिपरि घुम्नेले जनतालाई सबै भरिपूर्ण छ दुधभात मजाले खाइरहेका छन् भनेर राजालाई गुमराहमा राखिरहेका थिए भन्ने देखिन्छ । अहिले पनि त्यस्तै भइरहेकै थियो तर सुधार होला भनेर तैँ चुप मैँ चुप थिए जनता ।
वर्तमान स्थिति
पुरानै खालको वातावरण पछाडि आएका शासन व्यवस्थामा पनि शासकको वरिपरि गर्ने र सत्ताको रस्वादन गर्ने, सारा विकास निर्माण, ठेक्कापट्टा, पद, मान र प्रतिष्ठामा एकलौटी दोहन गर्ने परम्परा चलिरह्यो । जनता र सर्वसाधारण, महिला र तल पारिएका विभिन्न समुदाय र सोझा साधा पछाडि परिरहे । जनप्रतिनिधिको रूपमा चुनिने र छनोट हुनेमा पनि आधा आकाश ढाक्ने महिलालाई उपाध्यक्ष, उपप्रमुख र एकाध पदबाहेक दिन नचाहेका प्रशस्तै उदाहरण पाइन्छन् । तथापि सज्जन महिलावृन्द र सर्वसाधारणले सहिरहे । राजनीतिमा युवाको प्रवेश केवल पुरानो पुस्तालाई जनताको सम्पर्कमा आउन नदिने पर्खालको रूपमा मात्र प्रयोग भयो । दोस्रो र तेस्रो पुस्ताका केही मानिस शासकको वरिपरि मात्र रहे र जनताको अधिकार र भ्रष्टाचारको विरोधमा उत्रन बोल्न सकेनन् । फलस्वरूप उनीहरू पनि सुविधा भोगी त बने तर राजनीतिमा पछाडि परे र पछाडिको पुस्ताले त राजनीति चियाउनसम्म पनि पाएन ।
राजनीति भनेको सुशासन र समाज व्यवस्थापनको असल माध्यम हो तर दुरुपयोग गरियो । साथै जेनजी पुस्ताभन्दा अगाडिका पुस्ता अलि बढी सहनशील र अनुशासित बने जस्तो गर्दा राज्यमा चरम निराशा छाएको थियो । विकास निर्माण र बाटोघाटो बर्सौं बितिसक्दा पनि नबन्ने कमिसनमा केही स्वार्थी समूह रमाउने भइरहेकै थियो । यसले जनतालाई उकुसमुकुस र खपिनसक्नु त भएकै थियो तर सहन सक्ने नेपालीको अनुशासनको दुरुपयोग भइरह्यो । शासक र राजनीति बुझेको भनिएको वर्ग मुकदर्शक बनिरहे । अन्ततः विस्फोटको बाँध फुट्यो र विकराल स्थितिको सामना नेपाली जनता खास गरी भावी पुस्ताले गर्नुपर्ने देखियो । आशा गरौँ सुधार होला ।
यसरी विकराल समस्यामा पनि देखो नदेखो गर्ने र स्वार्थमा मात्र लाग्ने सुविधा भोगी समूहको प्रताडनामा रहेर सहिरहेका जनताको गुम्सिएको वेदना र त्यसकै परिणाम सधैँ प्रत्यक्ष देखेर, भोगेर र गरेर मात्र विश्वास गर्ने एक सक्रिय समूह (जसलाई जेनजी भनिन्छ) ले लेखेर भनिरहेको कुरालाई विद्रोहको रूपमा भ्रष्टाचारको विरोध र सुशासनका लागि आन्दोलन छेड्यो । मिलेर खान पल्केका शासक तथा निकटवर्ती वर्गको निद्रा हराम भयो । सच्चिन सकेनन् बरु हेरेर बसे । जेनजी भनिएका पुस्तालगायतका कलिला विद्यार्थी र जनसमुदायमा विभिन्न स्वार्थ समुदायको घुसपैठ भएर हाम्रा इतिहासका धरोहर, सम्पदा र एकताका प्रतीक विभिन्न संरचनामा प्रहार भयो । देश जलिरह्यो । सामान्य र सर्वसाधारणले त त्यो देश जलेको हेर्न सकेनन् । बोले, लेखे र संयमित हुन भने तर शासक र उनका वरिपरि घुम्नेले सो देखे नदेखे झैँ गरे, बोलेनन् र भनेनन् । पद र प्रतिष्ठा, मान खोज्नेले सो गुम्ला र पछि पनि धमिलो पानीमा माछा मारौँला भनेर होला ध्वस्त हुन्जेल चुप रहे जब अवस्था अलि शान्त बन्यो अनि मात्र सल्बलाउन खोजे । यो दृश्यले असल राजनीतिक संस्कार तथा संस्कृति र देशप्रति माया देखिएन र सर्वसाधारणको पिर मर्का बुझिएन । अहिले प्रविधिको चरम विकास भइसकेको अवस्थामा पनि सीमित उच्च पदस्थ वर्गमा मात्र अवसर र शासनको रस्वादन चलिरहेको अवस्था प्रविधिमा पारङ्गत पुस्ताले हेरेर बसिरहन सकेनन् र आफ्नो भ्रष्टाचार विरोधी अभियान चालेकाले देशमा कल्पना नगरेको स्थिति आयो । शासन सत्ता ढल्यो र राष्ट्रपतिबाट अहिले अन्तरिम सरकार गठन भएको स्थिति छ देशमा ।
सम्भावना र निकास
एकलकाटे र मनमौजी तथा लिँडेढिपीले काम चल्दैन बरु सहकार्य र बहुजन हितायको सिद्धान्त अवलम्बन गर्दै राजनीतिलाई कमाउने भ¥याङ नबनाई सामाजिक सेवाभाव राखेर यसलाई पुस्तान्तरण गर्नु जरुरी छ । प्रविधिले निकै फड्को मारिसकेको अवस्थामा पारङ्गत पुस्ताको सहयोग, सरसल्लाह र अगाडिका पुस्ताको सकारात्मक अनुभवलाई उपयोग गर्दै प्रविधिको उचित प्रयोगसहित विकासमा लम्किनुपर्ने छ । हाम्रा छिमेकीले गरेको चरम विकासलाई सहकार्यमार्फत नेपाल र नेपालीको हितमा प्रयोग गर्दे ती देशको स्रोतसाधनलाई समेत नेपालीले कूटनीतिक रूपमा प्रयोग गर्नु पर्छ । यसका लागि वैज्ञानिक विकास र परिवर्तनलाई मध्यनजर गरी उत्तम शासन व्यवस्था कायम गरी भ्रष्टाचारमुक्त सुशासनसहितको समाज निर्माण र समानताका लागि अबको राज्यसत्ता र शासन व्यवस्थालाई ठिक मार्गमा डो¥याउन राजनीतिमा पुस्तान्तरण गर्दै प्रविधिको सदुपयोग गरी संयमित तरिकाले विकास पथमा देशलाई डो¥याउनुपर्ने अपरिहार्य आवश्यकता छ ।