गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ९ गते । सडक विभागले गुनासा, जानकारी र आवश्यक सुझाव दिन ‘सम्पर्क व्यक्ति’ (फोकल पर्सन) तोक्ने व्यवस्था गरेको छ । विभागले सम्पर्क व्यक्तिसँगै ‘टोल फ्री नम्बर’ समेत सार्वजनिक गरेको छ । ‘टोल फ्री नम्बर’ ९८५१४१६८९३ रहेको छ । सम्पर्क व्यक्तिका रूपमा हरेक दिन फरक व्यक्तिको ड्युटी हुने जनाइएको छ । विभागले ‘टोल फ्री नम्बर’ मार्फत सडक, राजमार्ग र पुलबारे आफ्ना गुनासा, जानकारी र आवश्यक सुझाव दिन सबैसँग आग्रहसमेत गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको निर्देशनमा ‘सम्पर्क व्यक्ति’ तोकिएको सडक विभागले जनाएको छ । विभागले बुधबार सूचना जारी गरी सो जानकारी गराएको हो । “भौतिक पूर्वाधार तथा यातायातमन्त्रीबाट मुलुकभरिका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन फोकल पर्सनसमेतको व्यवस्थापन गर्न सडक विभागलाई निर्देशन भएबमोजिम असोज ७ गतेदेखि सम्पर्क व्यक्तिसमेतको व्यवस्थापन भएको छ,” विभागको सूचनामा उल्लेख छ । नागरिकबाट प्राप्त हुने गुनासा, जानकारी र आवश्यक सुझाव प्राप्त भएपछि सडक विभागको सम्बन्धित निकायमा प्रेषित गरी तत्काल सम्बोधन गर्न प्रयास गरिने सूचनामा उल्लेख छ ।