• १ पुस २०८२, मङ्गलबार

शिक्षा सुधारमा सघाउन अनुरोध

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ९ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामुदायिक विद्यालयको स्तर उकास्ने सरकारी अभियानमा सघाउन सामाजिक सङ्घ संस्थालाई अनुरोध गर्नुभएको छ । 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) का पदाधिकारीसँगको छलफलमा बुधबार मन्त्री पुनले विद्यालय शिक्षा सुधारको जिम्मेवारी हरेक व्यक्ति तथा संस्थाले लिनुपर्ने बताउनुभयो । शिक्षाको समग्र पक्षको सुधारका लागि सरकारले आफ्नातर्फबाट काम गरिरहेको बताउँदै उहाँले विद्यालय शिक्षामा प्रदान भइरहेको सेवालाई प्रभावकारी बनाउने विषयमा सरकारलाई रचनात्मक सुझाव दिनसमेत आग्रह गर्नुभयो । 

विद्यार्थीलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउन सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी सिर्जना गर्न निर्देशन दिइएको सो अवसरमा मन्त्री पुनले बताउनुभयो । साथै शिक्षक दरबन्दी थप गर्नका लागि आर्थिक स्रोतको अभाव हुन नदिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । 

एनसिई नेपालका अध्यक्ष लवराज ओलीले विद्यालय शिक्षाको सिकाइ स्तर सुधार, भौतिक पूर्वाधार विस्तार, शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरणको अन्त्यलगायतका विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । एनसिई नेपालमा मुलुकभर शिक्षा क्षेत्रमा क्रियाशील ५०९ वटा सामाजिक संस्था आबद्ध रहेको बताउँदै अध्यक्ष ओलीले सरकारले ल्याउने हरेक नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि संस्थाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सो अवसरमा एनसिई नेपालले विद्यालयमा स्वास्थ्य सहयोग, एसइईकेन्द्रित सहयोग संयन्त्र निर्माण, विद्यालयमा गुनासो सुन्ने संयन्त्र निर्माण, विद्यालय सुरक्षा र सुरक्षा सचेतना, विद्यालय शिक्षा अनुगमन तथा समर्थन संयन्त्र निर्माण, शिक्षामा पारदर्शिता र नागरिक सहभागिता, नीति निर्माण तहमा नागरिक समाजको सहभागितालगायत शिक्षा मन्त्रालयले अल्पकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको विषयमा सुझाव प्रस्तुत गरेको थियो ।