गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ९ गते । नेकपा (एमाले) को विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि मार्गप्रशस्त गरे पनि पार्टीभित्र नेतृत्व परिवर्तन र रूपान्तरणको बहस घनीभूत ढङ्गले उठान भइरहेको छ । जेनजी आन्दोलनका क्रममा ७४ जनाले सहादत प्राप्त गरेपछि त्यतिबेला सत्ताको नेतृत्वकर्ता ओलीले राजीनामा दिएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग पार्टीभित्र उठ्न थालेको हो तर अध्यक्ष ओली र उहाँ पक्षधर नेताले ‘सरकार ढाल्न षड्यन्त्र’ भएको जिकिर गर्दै नेतृत्व परिवर्तन नहुने अभिव्यक्ति दिनुभएको छ ।
जेनजी आन्दोलनमा भएको दमन र देशमा उथलपुथल हुने अवस्था सिर्जना हुनुमा मुख्य दोषी सरकारको नेतृत्वकर्ताका रूपमा ओलीलाई हुने भएकाले अध्यक्षबाट राजीनामा दिनुपर्ने अभिव्यक्ति नेताले दिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डे, सचिव गोकर्ण विष्टदेखि जिल्लास्तरका नेतासम्म अध्यक्ष ओलीको विकल्प खोज्नुपर्ने पक्षमा हुनुहुन्छ ।
उपाध्यक्ष पाण्डेले पार्टीमा रूपान्तरण आवश्यक रहेको बताउँदै अब दसैँतिहारपछि यस विषयमा आवश्यक विमर्श अघि बढ्ने प्रस्ट पार्नुभयो तर महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, उपमहासचिव विष्णु रिमालसहित नेताले अध्यक्ष ओलीलाई हटाउन नहुने बताउँदै आउनुभएको छ ।
स्थायी कमिटी सदस्य खगराज अधिकारीले एमालेमा नेतृत्वको समस्या नरहेको बताउँदै अहिल्यै यस विषयमा बहस आवश्यक नहुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “विधान महाधिवेशन सम्पन्न भयो । अब नियमित महाधिवेशन हुन्छ । महाधिवेशनले नै सबै कुरा टुङ्गो लगाउँछ । कसलाई हटाउने वा राख्ने भन्ने कुरा अहिले बहस गर्न आवश्यक छैन ।”
तर सचिव गोकर्ण विष्टले जेनजी आन्दोलनको मर्म र भावना तथा युवापुस्ताको मागबमोजिम पार्टीलाई अघि बढाउनुको विकल्प नरहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र रूपान्तरण आवश्यक छ । युवाको भावनाविपरीत जान सकिँदैन । त्यसैले एमाले त्यही भावना अनुरूप अघि बढ्छ ।”
एमालेमा अध्यक्ष ओलीलाई हटाउने र नहटाउने पक्षमा प्रस्ट कित्ताकाट भएको छ । पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मले पक्ष र विपक्षमा सामाजिक सञ्जालमै विषय उठान गर्दै आएका छन् तर भदौ २०–२२ गतेको विधान महाधिवेशनले ७० बर्से उमेरहद हटाउँदै अध्यक्ष ओलीलाई तेस्रो कार्यकाल पनि नेतृत्व गर्ने बाटो खुला गरेको दुई दिनपछि जेनजी आन्दोलनले सत्ताबाट बर्खास्त गरिदियो । त्यससँगै एमालेमा नेतृत्व परिवर्तनको बहस सघन रूपमा उठेको हो ।