• ९ असोज २०८२, बिहिबार

सखियाको पैयाँ जोगाउन थारू अगुवाहरुको आग्रह

blog

दशैको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा थारू अगुवाहरु । तस्विरः सन्तोष दहित

सन्तोष दहित

दाङ, असोज ८ गते । दशैंमा नाचिने थारू सखिया नाचको पैयाँ लोप हुँदै गएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेकोम भन्दै थारु अगुवाहरुले त्यसको संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ । नमुना भ्युह्यार थान तुलसीपुर र थारू  कल्याणकारी सभा क्षेत्र नं ३ को संयुक्त आयोजनामा सम्पन्न दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरूले सो आव्हान गरेका हुन् । 

थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले सख्या पैयाँ नाच केवल लोकसंस्कृति मात्र नभई थारू समुदायको अस्तित्वसँग जोडिएको विषय भएकाले यसको संरक्षण गर्न आवश्य रहेको बताउनुभयो । थारू समुदाय भाषा, साहित्य, तथा लोककला, संस्कृतिमा धनी समुदायको रुपमा चिनिए पनि पछिल्लो समय थारू समुदायको मौलिक कला, संस्कृति संकटमा पर्दैगएको छ, भन्नुभयो । हाम्रा मौलिक कला संस्कृतिको राम्रो पक्षको संरक्षणसँगै प्रवर्धन गर्न उहाँले जोड दिनुभयो । 

दशैमा नाचिने सख्या नाच महाभारतको कथासँग सम्बन्धित रहेको उल्लेख गर्दै यसको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिमा आधारित गहिरो अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । दशैमा पच्रा, सम्ह्रौटी, बर्कीमार, सख्या गीत हुन, तर, अहिले यी बिस्तारै लोप भइरहेको छ, यसको अध्ययन अनुसन्धानसँगै नयाँ पुस्तामा पुस्तान्तरण गर्न आवश्यक छ, उहाँले भन्नुभयो । 

नमुना भ्युह्यारथान तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले थारू समुदायले आफ्नै भाषा, कला र संस्कृति जोगाउन स्वयं अग्रसर हुनुपर्ने बताउनुभयो । हाम्रो भाषा, कला संस्कृति बचाइदेला भनेर आशा गर्नु व्यर्थ छ उहाँले भन्नुभयो । हामी सचेत भएनौं भने अबको ८–१० वर्षभित्र सख्या नाच लोप हुने अवस्थामा पुग्छ, उहाँको भनाइ छ । 

थारू कल्याणकारिणी सभा क्षेत्र नं ३ का अध्यक्ष मोहन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केन्द्रीय सदस्य रामबहादुर दहित, बुद्धिजीवी श्रमलाल चौधरी, स्वास्थ्यकर्मी जिवराज चौधरी, थारु अगुवा सुन्दरप्रसाद चौधरी, केबी चौधरी लगायतले आ–आफ्नो शुभकामना व्यक्त गर्न भएकोथियो । कार्यक्रममा थारु भाषा तथा सांस्कृतिक अभियन्ता रोहित चौधरीले थारु समुदायको डस्या पर्वबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

त्यसैगरी, बुझौना चौधरी, छोटीराम चौधरी, सत्यनारायण चौधरीले परम्परागत बर्कीमार र सम्ह्रौटी गीत प्रस्तुत गर्नुभयो । कार्यक्रमा तुलसीपुर –६ बरुवागाउँका कलाकारहरूले सख्या पैयाँ नाच प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण भ्युह्यार थानका सचिव नारायण चौधरीले गर्नुभएको थियो।