• ८ असोज २०८२, बुधबार

बाबुराम भट्टराईद्वारा नेसपाको अध्यक्ष पद त्याग

blog

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई । फाइल तस्बिर

काठमाडौँ, असोज ८ गते । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गर्नुभएको छ ।

दीपज्योती बैङ्क्वेट बौद्धमा आज बसेको नेसपा (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष डा. भट्टराईले पदत्याग गर्ने प्रस्ताव पेस गर्नुभएको र केन्द्रीय समितीद्वारा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अध्यक्ष भट्टराईको पदत्याग गर्ने प्रस्ताव केन्द्रीय समितीद्वारा स्वीकृत भएको छ । पार्टीका उपाध्यक्ष दुर्गा सोबको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरिएको छ ।”

महाधिवेशनसम्मको निम्ति उपाध्यक्ष दुर्गा सोबलाई संयोजक र महासचिव सोनामसिंह स्याङ्तानलाई सदस्य सचिव तथा पार्टी प्रवक्तामा कृष्ण शर्मालाई तोकिएको सो पार्टीका केन्द्रीय सदस्य टङ्क धमलाले बताउनुभयो । 

उहाँका अनुसार नेसपा (नयाँ शक्ति)ले आउँदो फागुन महिनासम्ममा आफ्नो पार्टीको विशेष महाधिवेशन गर्ने तयारी गरेको छ ।