सिड्नी, असोज ८ गते । अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राख्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ । यस अन्तर्गत अब ह्वाट्सएप, रेडिट, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्म पनि प्रतिबन्धको सूचीमा पर्न सक्ने सम्भावना देखिएको छ ।
यसअघि नै फेसबुक, स्न्यापच्याट, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालमा बालबालिकालाई प्रतिबन्ध लगाइएको छ । अस्ट्रेलियाको ई–सुरक्षा आयोगका प्रमुख जुली इनम्यान ग्रान्टले थप १६ कम्पनीलाई पत्र पठाई आफ्नो सेवा प्रतिबन्धको दायरामा पर्छ कि पर्दैन भन्ने ‘आत्म-मूल्याङ्कन’ गर्न निर्देशन दिनुभएको छ ।
नयाँ सूचिमा पिन्टरेस्ट, लेगो प्ले, किक, स्टिमजस्ता सेवा प्रदायक पनि परेका छन् । यी कम्पनीले यदि आफ्नो सेवा बालबालिकालाई सुरक्षित रहेको दाबी गर्न चाहन्छन् भने त्यसको प्रमाणसहितको निवेदन दिनुपर्ने हुन्छ । इनम्यान ग्रान्टले भन्नुभयो, “केही सेवा स्पष्टरूपमा प्रतिबन्धको दायरामा पर्छन्, तर हामी सबै कम्पनीलाई न्यायपूर्ण प्रक्रिया दिने छौँ । सबै पक्षलाई सुनिने छ ।”
प्राथमिकतामा बढी प्रयोग हुने प्लेटफर्म
नियामक निकायले सुरुवाती चरणमा सबैभन्दा बढी प्रयोगकर्ता भएका प्लेटफर्ममा ध्यान केन्द्रित गर्ने बताएको छ, जहाँ बालबालिकामाथि हानिको जोखिम पनि बढी हुने गर्छ । यद्यपि अस्ट्रेलिया इन्टरनेट प्रयोगमा बालबालिकाको सुरक्षाका लागि कानुनी पहलमा अगाडि देखिए पनि हालको कानुन कार्यान्वयन कसरी गर्ने भन्नेमा अस्पष्टता देखिएको छ । यसले विज्ञमा यो कानुन व्यवहारमा लागु गर्न गाह्रो हुने भन्दै चिन्ता उत्पन्न गराएको छ ।
यदि कुनै कम्पनीले नियमको उल्लङ्घन गर्यो भने, ई-सुरक्षा आयोगले ती कम्पनीलाई चार करोड ९५ लाख अस्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने छ । कैयौं सामाजिक सञ्जाल कम्पनीले भने यो कानुनलाई ‘अस्पष्ट’ र ‘अव्यवस्थित’ भनेर आलोचना गरेका छन् ।
उमेर प्रमाणित गर्ने प्रणालीमा अन्योल
कसरी प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने भन्ने विषयमा सरकार अझै स्पष्ट छैन । सरकारको निर्देशनमा गरिएको एउटा स्वतन्त्र अध्ययनले उमेर प्रमाणीकरण गोप्य, प्रभावकारी र सरलरूपमा गर्न सकिने देखाए तापनि एउटै उपाय सबै प्लेटफर्ममा लागु गर्न नसकिने उल्लेख गरिएको छ ।
बालबालिकाको सुरक्षाका लागि अन्य कडा नियम ई-सुरक्षा आयोगले यसै वर्षदेखि केही नयाँ नियम लागु गर्दै छ, जसले ‘कानुनी तर हानिकारक’ सामग्रीहरूबाट बालबालिकालाई जोगाउने प्रयास गरिने छ । यसै सन्दर्भमा, रोब्लक्सले अस्ट्रेलियामा बालबालिकालाई अनलाइन दुर्व्यवहारबाट जोगाउन केही कडाइ अपनाउने निर्णय गरेको छ । रासस/एएफपी