तेहरान, असोज ८ गते । इरानको सांस्कृतिक गौरव मानिने हस्तनिर्मित कालीन (कार्पेट) उद्योग आज गम्भीर सङ्कटको सामना गर्दैछ । दशकदेखि अरबौं डलर आम्दानी दिने यो परम्परागत व्यवसाय अब मात्र थोरै देशहरूमा सीमित बनेको छ ।
आर्थिक सङ्कट र उपभोक्ताको बदलिँदो रुचिका कारण यो उद्योग पतनको दिशातर्फ अगाडि बढिरहेको छ । सन् १९९० को दशकमा वार्षिक दुई अर्ब डलरभन्दा बढी निर्यात गर्ने इरानी कार्पेट उद्योग अहिले घटेर करिब ४० लाख डलरमा सीमित भएको छ, जुन ९५ प्रतिशतभन्दा बढीको गिरावट हो ।
सन् २०१८ मा अमेरिकाले प्रतिबन्ध पुनः लगाएपछि, इरानले आफ्नो सबैभन्दा ठूलो कार्पेट बजार गुमायो । त्यसअघि अमेरिकी बजारमा इरानी हस्तबुनिएका कालीनको ७० प्रतिशत हिस्सा थियो । इरानको राष्ट्रिय कालीन केन्द्रकी प्रमुख, जहरा कामानीका अनुसार,“अमेरिकाको निर्दयी र कठोर प्रतिबन्धका कारण हामीले आफ्नो प्रमुख बजार गुमायौं ।”
वैश्विक प्रतिस्पर्धा
सन् २०१७ मा यो उद्योगले अझै ४०० लाख डलरभन्दा बढीको निर्यात गरिरहेको थियो, तर हालको तथ्याङ्क अनुसार सन् २०२४/२५ मा निर्यात घटेर ४१.७ लाख डलरमा झरेको छ । इरानका कार्पेट अहिले जर्मनी, संयुक्त अरब इमिरेट्स, जापान र चीनजस्ता देशमा निर्यात हुन्छन् । तर यता, भारत, नेपाल, पाकिस्तान र चीनले सस्तो दरमा कालीन उत्पादन गरी बजार कब्जा गरिरहेका छन् । केहि विदेशी कालीन त इरानमै पुनः आयात भइरहेका छन् ।
उद्योगमा आश्रित लाखौं जीवन
कामानीका अनुसार, इरानमा झण्डै २० लाख मानिस यो उद्योगमा निर्भर छन् । तिनीले दैनिक केबल केही डलर आम्दानी गर्ने गर्दछन् । व्यापारी हामेद नबीजादेहले भन्नुभयो,“भारत, टर्कीए र चीनबाट इरानमा कालीन आयात भइरहेको छ, जसका कारण घरेलु बिक्रीमा ठूलो गिरावट आएको छ ।”
पर्यटनमा गिरावट
पहिले-पहिले विदेशी पर्यटकले स्मरणीय उपहारको रूपमा इरानी कालीन किन्थे । तर हाल अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रनु र यात्रा चेतावनीहरूका कारण पर्यटन क्षेत्र पनि प्रभावित भएको छ । “आजकाल पर्यटकलाई हाम्रो कार्पेट मन नपर्न सक्छ । मूल्य पनि धेरै महँगो लाग्छ,” नबीजादेहले भन्नुभयो । “३०-४० हजार डलर पर्ने रेशमी कालीन आजको युरोपेली ग्राहकले किन्ने अवस्था छैन ।”
अर्थनीति र सरकारी समर्थनको अभाव
विशेषज्ञका अनुसार उद्योगमा गिरावटको मूल कारणमा अन्तर्राष्ट्रिय प्रतिबन्ध, विदेशी मुद्रासँग सम्बन्धित त्रुटिपूर्ण नीति, उच्च उत्पादन लागत र सरकारी बेवास्ता जिम्मेवार छन् । व्यापारमन्त्री मोहम्मद अताबकले भन्नुभयो,“हामीले केही अन्तर्राष्ट्रिय बजार गुमाएका छौं, तर नयाँ व्यापार सम्झौता र नीतिको सहायताले उद्योगलाई पुनः जिवन्त बनाउन सकिन्छ ।” “कालीन आधुनिक आन्तरिक सजावटको रुचिअनुसार बनाउनुपर्ने हुन्छ । सामाजिक सञ्जालमार्फत ब्रान्डिङ र अनलाइन ग्राहकहरू तान्ने प्रयास गर्नु आवश्यक छ ।”
घरेलु बजार पनि धराशायी
डलरको तुलनामा इरानी मुद्रा अत्यधिक कमजोर बनेपछि घरेलु ग्राहक पनि हस्त बुनिएको कालीन किन्न असमर्थ छन् । ३१ वर्षीया विवाहको तयारीमा रहेकी शीमा भन्नुभयो,“मैले सधैं आफ्ना दाइजोमा हातले बुनेको कालीन चाहन्थें, तर परिवारले किन्ने सक्दैन । त्यसको सट्टा हामीले कारखानामा बनेको कालीन किनेका छौं ।” “आजकाल धेरै परिवारहरू सस्तो मूल्यका यान्त्रिक कालीन रोजिरहेका छन्, या त केहीले त कालीन नै किन्न छोडेका छन्,” उहाँले थप्नुभयो । रासस/एएफपी