मस्को, असोज ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेको दाबीलाई अस्वीकार गर्दै क्रेमलिनले बुधबार युक्रेनमा सैन्य आक्रमण जारी राख्नुबाहेक अरू विकल्प नभएको घोषणा गरेको छ ।
ट्रम्पले युक्रेनले आफ्नो सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने भन्दै रुसलाई असफल अर्थतन्त्र भएको ‘कागजी बाघ’ का रूपमा चित्रण गरेको एक दिनमै मस्कोले प्रतिक्रिया दिएको हो । “राष्ट्रपति भ्लादिमिर पुटिनले तोकेको लक्ष्य प्राप्त गर्न र हाम्रो राष्ट्रिय चासो सुरक्षित गर्न विशेष सैन्य अभियान जारी राख्ने छौँ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “यो हामी हाम्रो वर्तमान र भविष्यका लागि मात्र होइन, आउने पुस्ताका लागि गरिरहेका छौँ । त्यसैले, हामीसँग कुनै विकल्प छैन ।”
पेस्कोभले ट्रम्पको टिप्पणी अस्वीकार गर्दै रुसले द्रुत वृद्धि र लगातार मुद्रास्फीतिबिच सुस्त अर्थतन्त्रको चुनौती भोगिरहेको स्वीकार गर्नुभयो । तर, उहाँले जोड दिनुभयो, “रुसले आफ्नो समष्टि आर्थिक स्थिरता कायम राखेको छ, यद्यपि केही क्षेत्रमा तनाव र समस्याहरू छन् ।” उहाँले मस्को-वासिङ्टन सम्बन्ध सुधारका लागि गरिएको प्रयासलाई पनि नकारात्मक रूपमा मूल्याङ्कन गर्नुभयो ।
जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्केपछि सुरु भएको मेलमिलाप प्रयासको परिणाम ‘शून्यको नजिक’ भएको बताउनुभयो । “यो प्रक्रिया सुस्त छ, अत्यन्तै सुस्त”, पेस्कोभले भन्नुभयो । मस्कोले युक्रेन द्वन्द्वभन्दा पर गएर अमेरिकासँग कूटनीतिक र आर्थिक सहयोग विस्तार गर्ने प्रयास गरिरहेको भए पनि परिणाम अझै न्यून देखिएको उनले स्वीकार गर्नुभयो । रासस/एएफपी