सुजन काफ्ले
चरीकोट, असोज ८ गते । भारतीय दूतावासले बस प्रदान गरेपछि जिल्लाको भीमेश्वर नगरपालिका-७ मा रहेको कुटिडाँडा माध्यमिक विद्यालयले बस सेवा प्रदान गर्ने भएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा विद्यार्थीको आकर्षण बढाउन बस सुविधाले सहयोग पुग्ने विद्यालयले जनाएको छ। दूतावास सहयोगमा विद्यालयमा ल्याइएको बस बुधबार एक कार्यक्रम आयोजना गरेर उद्घाटन गरिएको हाे ।
बस उद्घाटन गर्दै नेपाल सरकार पूर्व संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले बस सुविधाले विद्यार्थीको आवतजावत सहज हुने बताउनुभयो। धेरै विद्यार्थी भएका, टाढाबाट आउनुपर्ने अवस्था भएकाका लागि बस सुविधाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन बस सेवाले सहयोग पुउने बताउनुभयो । भीमेश्वर नगरपालिकाका तीन वटा सामुदायिक विद्यालले बस सुविधा दिएको बताउनुभयो । विद्यालयमा राज्यको लगानी बढ्दै गएको तर दिनप्रतिदिन विद्यार्थीको सङ्ख्या भने घट्दै गएको प्रमुख मानन्धरको भनाइ छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सोही वडाका वडा अध्यक्ष विनोद तामाङले शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि बस सेवाले टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
राजमार्ग छेवैमा रहेको विद्यालय आवत जावतका लागि यसअघि विद्यार्थीले अन्य सार्वजनिक सवारी साधन प्रयोग गर्दै आएकामा बस प्राप्त भएपछि त्यो बाध्यता हटेको अध्यक्ष तामाङले बताउनुभयो।
कक्षा १ देखि १२ सम्म अध्यापन हुने सो विद्यालयमा ४ सय जना विद्यार्थी अध्ययनरत छन् ।