• ८ असोज २०८२, बुधबार

टी–२० एसिया कप : सुपर चारमा पाकिस्तानद्वारा श्रीलङ्का पराजित

blog

पाकिस्तानका खेलाडी ।

काठमाडौँ, असोज ८ गते । एसिसी टी–२० एसिया कपको सुपर चारमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ ।

युएईको जायद क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पाँच विकेटले हरायो ।

जितसँगै दुई खेलबाट दुई नै अङ्क बनाएको पाकिस्तानले फाइनल पुग्ने सम्भावना जिवित राखेको छ । लगातार दोस्रो हार खेपेको श्रीलङ्काको सम्भावना सकिएको छ ।

पाकिस्तान सुपर चारको पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । श्रीलङ्का बङ्गलादेशसँग चार विकेटले स्तब्ध बनेको थियो । जितका लागि श्रीलङ्काले प्रस्तुत गरेको एक सय ३४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । 

पाकिस्तानका लागि मोहम्मद नवाजले अविजित सर्वाधिक ३८ रन बनाउनुभयो । यस्तै शहिवजादा फरानले २४, हुसेन टलाटले अविजित ३२, फखर जमानले १७ र मोहम्मद ह्यारिसले १३ रन बनाउनुभयो ।

बलिङमा श्रीलङ्कामा महेश तिक्क्षणा र वानिन्दु हसरङ्गाले दुई दुई तथा दुश्मन्था चामिराले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो ।

श्रीलङ्काका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ५० रन बनाउनुभयो ।यस्तै कप्तान चरिथ असलङ्काले २०, चामिका करुणारत्नेले अविजित १७ तथा कुशल परेरा र वानिन्दु हसरङ्गाले १५/१५ रन बनाउनुभयो ।

बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदीले तीन विकेट लिनुभयो । ह्यारिस रौफ र हुसेन टालटले दुई दुई तथा अब्रार अहमदले एक किकेट लिनुभयो । एजेन्सी