अनिल पराजुली
हेटौँडा, असोज ८ गते । विश्व रेबिज दिवस २०२५ को अवसरमा पशु सेवा कार्यालय मकवानपुरले रेबिज विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय तहको पशु सेवा शाखा मार्फत रेबिज विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको हो । असोज ६ गतेदेखि सुरु भएको रेबिज विरुद्धको खोप कार्यक्रम १२ गतेसम्म सञ्चालन हुनेछ ।
अहिले पशु सेवा कार्यालयले दैनिक २० देखि ३० वटा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइरहेको कार्यालय प्रमुख बज्र किशोर ठाकुरले जानकारी दिनुभयो । कार्यालयका तीन जनाको समूह बनाएर स्थानीय तहका प्राविधिकहरूसँग आवश्यक समन्वय र सहकार्य गरेर रेबिज विरुद्धको खोप लगाउने काम भइरहेको उहाँले बताउनुभयो । “सामुदायिक कुकुरहरूलाई ठाउँ–ठाउँमा गएर दिवसको अवसरमा खोप लगाइरहेका छौँ, मानिस, पशु बस्तुलाई रेबिज लागेको कुकुरले टोक्दा निको नहुने भएकाले सबै सचेत हुन जरुरी छ,” कार्यालय प्रमुख ठाकुरले भन्नुभयो ।
रेबिज भएका भएका कुकुर, स्याल, लगायतका जङ्गली जनावरको टोकाइबाट रेबिज लाग्ने जानकारी दिर्दै उहाँले रेबिज रोग लागेको जनावरले टोकेको अवस्थामा र्यालको माध्यमबाट, घाउ, चोटपटक लागेको छालामा चाटेमा वा र्याल पर्न गएमा रेबिज सर्ने गर्दछ ।
पशु सेवा कार्यालयको तथ्याङ्क अनुसार रेबिज सङ्क्रमित कुकुरको टोकाइबाट मकवानपुरमा गत वर्ष तीन जनाको मृत्यु भइसकेको छ । थाहा नगरपालिकामा दुई जनाको र मकवानपुर गढी गाउँपालिकाका एक जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार करिब ९९ प्रतिशत मानिसमा लाग्ने रेबिज सङ्क्रमित कुकुरको टोकाइबाट लाग्ने गर्छ । नेपालले सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्युदर शून्यमा झर्ने लक्ष्य लिएको छ ।