दुबई, असोज ८ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले खेलकुदको विश्व प्रशासकीय निकायमा युएसए क्रिकेटको सदस्यता तत्काल प्रभावबाट निलम्बन गरेको छ । तर अमेरिकी टोलीले अझै पनि सन् २०२८ लस एन्जलस ओलम्पिकमा सहभागिताको दौड जारी राख्ने छन् ।
आइसिसी बोर्डले ‘विधानअन्तर्गत सदस्यका रूपमा दायित्व बारम्बार उल्लङ्घन गरेको’ भन्दै निलम्बनको निर्णय लिएको हो । मङ्गलबार राति जारी विज्ञप्तामा भनिएको छ, “यसमा समावेश छ, तर सीमित छैन, कार्यात्मक शासन संरचना लागू गर्न असफलता तथा संयुक्त राज्य अमेरिका ओलम्पिक र प्यारालिम्पिक समिति (युएसओपिसी) सँग राष्ट्रिय परिचालक निकायको स्थिति पाउन प्रगति नदेखिनु ।”
आइसिसीले अमेरिकी क्रिकेट र विश्वभर खेलको प्रतिष्ठामा आघात पुर्याउने कार्यहरुलाई पनि आधार मानेको छ, तर विस्तृत विवरण भने दिएको छैन । यसबिच, अमेरिकी पुरुष टोलीले अर्को वर्ष फेब्रुअरीमा हुने टी-२० विश्वकपमा खेल्नेछ । टोली व्यवस्थापनलाई अस्थायीरूपमा आइसिसीले निगरानी गर्ने छ ।
अमेरिकाले सन् २०२४ को पुरुष टी-२० विश्वकपमा सुपर आठ चरणसम्मको यात्रा गर्दै सन् २०२६ को प्रतियोगितामा सिधै स्थान बनाएको थियो । “निलम्बन खेलको दीर्घकालीन हितको रक्षा गर्न दुर्भाग्यपूर्ण तर आवश्यक कदम हो”, आइसिसीले भनेको छ, “आइसिसीको शीर्ष प्राथमिकता भनेको खेलाडी र खेल आफैँ निलम्बनका कारण प्रभावित नहुनु हो ।”
युएसए क्रिकेटलाई यसअघि सन् २०२४ को आइसिसी वार्षिक साधारणसभामा ‘सदस्यता मापदण्ड पूरा नगरेको’ भन्दै सूचनामा राखिएको थियो र आवश्यक सुधार गर्न १२ महिनाको समय दिइएको थियो । रासस/एएफपी