जयकृष्ण यादव
इनरुवा, असोज ८ गते । सुनसरीको विभिन्न स्थानमा किसानले लगाएका धान बालीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गबारो कीराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
यहाँ गवारो सहितको रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । केही किसानले विषाधी छर्न थालेका छन् भने केहीले निदानका लागि परामर्श लिन थालेका छन् । प्रमुख खाद्यान्नबालीको रूपमा रहेको धानबाली यस वर्ष ढिलो लगाएको र त्यसमा पनि रोग कीराको प्रकोप देखिएकाले किसान चिन्तित बनेका कृषि प्राविधिक भुवनेश्वर यादवले जानकारी दिनुभयो ।
यसरी बढ्दै गएको रोग कीरा निधान नभएको खण्डमा धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । जिल्लामा ९५ प्रतिशत किसान व्यावसायिक रूपमा धानबाली खेती गर्दै आएका छन् । यस वर्ष रोपाइँ सकिएको डेढ महिनाबाट धानबालीमा गवारो रोगले व्यापक क्षति गरेको यादवको कथन छ ।
आफ्नो धान बालीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएकाले विभिन्न तीन थरीको विषाधी मिसाएर स्प्रे गरेको इनरुवा ९ का किसान दसरथ साहले बताउनुभयो । त्यसैगरी इनरुवाका किसान दिपेन्द्र यादवले पनि रोगको विरुद्ध विषाधी स्प्रे गरेको बताउनुभयो ।
सुरुमा रागमार्ग उत्तरी भेगमा देखापरेको यो रोग विस्तारै दक्षिणी तथा सीमावर्ती भेगसम्म सरेकाले किसानहरू पीडित बनेका हुन ।
जिल्लाका अधिकांश ठाउँमा यो रोग देखा परे पनि कति क्षति भएको यकिन हुन सकेको छैन । धानमा यो रोग देखा परेपछि यसको निदान किसानले आफैँ गर्दै आएको छ । कृषि प्राविधिकले पनि रोगकीरा निदानका लागि औषधी छर्किन सल्लाह दिएका छन् । यहाँका किसानले बढी मात्रामा उन्तन जातका धानखेती गर्ने भएकाले यो धानबालीमा बढी मात्रामा गवारो र पात बेरुवा रोग लाग्ने गरेको किसानहरूले बताएका छन् ।
गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठुलो क्षति पुर्याउने गरेको किसानको गुनासो छ। कीराको प्रकोप तीव्ररूपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेका किसानको भनाइ छ ।
छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङ्गको गरी छ किसिमका गवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् । धानको बिरुवा-बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्वको कमीले कीराको सङ्क्रमण सहजै फैलन सक्ने कृषि विज्ञको भनाइ छ ।
जिल्लामा कुल ५५ हजार हेक्टर क्षेत्रफलमा किसानले धानखेती गरेकामा पछिल्लो समय केही धानबालीमा गवारो रोग र पातबेरुवा रोग लागेको अनुमान कृषि ज्ञान केन्द्रले गरेको जनाएको छ । हाल फाट्टफुट्ट रूपमा धानबालीमा ब्लास्ट रोग फेला पर्न थालेको छ ।