नवलपुर समाचारदाता
नवलपुर, असोज ८ गते । सङ्घीयता कार्यान्वयनसँगै निर्माण भएको नवलपुर जिल्लामा हालसम्म कारागार बन्न सकेको छैन । नवलपुर प्रहरीले जिल्लामा कारागार नहुँदा कैदीबन्दी ओसारपसारमा निकै समस्या भोग्नु परेको गुनासो गरेको छ । जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी अदालतको आदेशपछि विभिन्न कारागार पठाउनुपर्ने थुनुवाको ओसारपसारमा समस्या भएको बताएको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जिल्लामा कारागार नभएकाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएका व्यक्तिलाई सम्बन्धित कारागारमा उपस्थित गराउन सवारीसाधनसमेत नभएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नवलपुरबाट नवलपरासीमा ३६ जना, चितवन कारागारमा १०७ जना, बाल सुधारगृह पोखरामा पाँच र भैरहवामा एक जरी १४३ जना कैदी स्थानान्तरण गरिएको थियो ।
जेनजी आन्दोलनपछि विभिन्न कारागारबाट भागेका २४ जना कैदीबन्दीलाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएर नजिकका कारागारमा पठाएको छ । प्रहरी नायब उपरीक्षक नेपालले चितवन, नेपालगन्ज, नक्खु, झुम्का र भीमफेदीबाट भागेका कैदीबन्दीलाई पक्राउ गरी चितवन र नवलपरासीमा हस्तान्तरण गरेको र ती कारागारले सम्बन्धित कारागारमा पठाएको जानकारी दिनुभयो ।
सङ्घीयतापछि नवलपरासीबाट छुट्टिएर नवलपुर जिल्ला बनेयता जिल्ला कारागारविहीन छ । कारागार नहुँदा कैदीबन्दीलाई कहिले नवलपरासी त कहिले चितवनमा ओसारपसार गर्नुपर्ने बाध्यता छ । कैदीबन्दी त्यसरी अन्य जिल्लामा लैजानुपर्दा विभिन्न चुनौती र समस्या भोग्नु परेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । यसरी अन्यत्र जिल्लामा लगेर कैदीबन्दी छाड्नुपर्दा जनशक्ति, सवारीसाधन र खर्च व्यवस्थापनमा समस्या हुने गरेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो ।
लगिएकै ठाउँमा समेत त्यहीँका कैदीबन्दीको जीवन व्यवस्थित हुन नसकिरहेको अवस्थामा अन्यत्रका थप कैदीबन्दीले सम्बन्धित कारागारको सहज व्यवस्थापनमा समेत चुनौती देखिने गरेको ढकालको भनाइ छ । नवलपुर जिल्लामा कारागारको आवश्यकता हेरेर जिल्ला सुरक्षा समितिले केन्द्रीय कारागार व्यवस्थापन विभागमा लिखित रूपमा अनुरोध गरे पनि हालसम्म सुनुवाइ भएको छैन । प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले नयाँ जिल्ला भएकाले कारागार प्राथमिकतामा नपरेको र यसले प्रहरीलाई समस्या थपिदिएको बताउनुभयो ।