• ८ असोज २०८२, बुधबार

बाटोखर्च नहुनेलाई सहयोग

blog

बुटवल समाचारदाता

बुटवल, असोज ८ गते । दसैँका लागि देश–विदेशबाट घर फर्कने यात्रुको सहजताका लागि बुटवलमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ । घटस्थापनाको दिनदेखि सञ्चालनमा आएको यस कक्षमार्फत बाटोखर्च नहुने यात्रुलाई समेत सहयोग गर्ने व्यवस्था मिलाइएको छ । 

सहायता कक्ष बुटवल नयाँ बसपार्कमा स्थापना गरिएको हो, जहाँ यात्रुलाई समस्या परे तत्काल सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ । प्रहरी प्रशासन, यातायात व्यवसायी तथा स्थानीय सरोकारवाला संस्थाको सहभागितामा सञ्चालन हुने यो कक्षले यात्रुको गन्तव्यसम्बन्धी समस्या, अग्रिम टिकट बुकिङ, आकस्मिक खर्च व्यवस्थापनलगायतका सहयोग उपलब्ध गराउने छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलका अनुसार यात्रु बेखर्ची भए बाटा खर्चसम्म उपलब्ध गराउने तयारी गरिएको छ । उहाँले भन्नुभयो, “हाम्रो सानो सहयोगले कसैको यात्रा सहज हुन्छ भने यसमा सहयोग नगर्ने कुनै कारण छैन ।” उहाँका अनुसार बुटवललगायत पश्चिम नेपालको विभिन्न स्थानमा सञ्चालन भइरहेका गाडीमार्फत यात्रुलाई गन्तव्यसम्म पु¥याउने जिम्मेवारी व्यवसायीले निर्वाह गर्ने छन् ।

यसैबिच दसैँलाई लक्षित गरी बुटवलबाट लुम्बिनी प्रदेशका तराई तथा पहाडी जिल्लातर्फ अग्रिम टिकट बुकिङ सुरु गरिएको छ । यात्रुहरूको सहजताका लागि साबिक भाडादरमै टिकट काट्न यातायात व्यवसायी संस्थाले आग्रह गरेका छन् । अध्यक्ष खरेलले विगतमा हुने दोहोरो टिकट बिक्री वा एउटै सिटमा दुई टिकट काट्ने जस्ता समस्या समाधान गर्न विशेष सतर्कता अपनाइएको जानकारी दिनुभयो ।