• ८ असोज २०८२, बुधबार

घोराही–तुलसीपुर सडक

सर्भे सकियो कात्तिकबाट निर्माण सुरु

blog

घोराही समाचारदाता

घोराही, असोज ८ गते । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि सर्भेको काम सकिएको छ । चार लेन सडक निर्माणका लागि लागि सर्भे सकेर अहिले साइट भेरिफेकेसनको काम सुरु भएको हो । सडक डिभिजन कार्यालय दाङसँगको सहकार्यमा सर्भेको काम सकेर साइट भेरिफेकेसनको काम भइरहेको भन्दै सडक निर्माणका लागि जिम्मा पाएको दिवा/बन्दन भगवती जेभीका कन्ट्र्याक्ट मेनेजर इन्जिनियर सुनिल ढुङ्गानाले भेरिफिकेसनको काम सकेर कात्तिकबाट निर्माणको काम सुरु हुने बताउनुभयो । 

अहिले सडक स्तरोन्नतिका लागि सर्भेको काम सकेर विस्तृत परियोजना प्रतिवेद (डिपिआर) अनुसार सडक निर्माणका क्रममा हटाउनुपर्ने रुख, विद्युत् पोल र घर के कति छन् भनेर पहिचान गर्ने काम भइरहेको बताउनुभयो । कन्ट्र्याक्ट म्यानेजर इन्जिनियर ढुङ्गानाले भन्नुभयो, “सर्भेको काम सकेर अहिले डिपिआर अनुसार सडकमा काम गर्दा हटाउनुपर्ने रुख, विद्युत् पोल र घर पहिचान गर्ने काम भइरहेको छ ।” 

उहाँका अनुसार साउनको दोस्रो सातादेखि घोराही–तुलसीपुर चार लेन सडकमा निर्माण कम्पनी र सडक डिभिजन कार्यालयका प्राविधिकबाट ज्वाइन्ट सर्भे सुरु भएको थियो । तयार भएको सर्भे प्रतिवेदन मदन भण्डारी सडकमार्ग परियोजना र सडक डिभिजन कार्यालय दाङमा बुझाइएको छ । डिपिआर अनुसार घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौसम्मको करिब २१.५८ किलोमिटर सडकखण्डमा ४३ वटा रुख हटाउनुपर्ने छ । आयोजना सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथसहित ३० मिटर कायम हुने छ । 

ग्रामीण क्षेत्रमा भने १५ मिटर मात्र कालोपत्रे हुने छ । सडकखण्डको करिब ९.५ किलोमिटर सडक सहरी क्षेत्रमा पर्ने छ । घोराही–तुलसीपुर चार लेन सडक स्तरोन्नतिका लागि दुई अर्ब ५३ करोड रुपियाँमा काठमाडौँको दिवा/बन्दन भगवती जेभीसँग २०८२ असार २४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले २०८५ असार २४ गतेसम्म घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम सक्नुपर्ने छ ।  

यसअघि भारतको एक्जिम बैङ्कको ऋण लगानीमा २०७६ सालदेखि घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम सुरु भए पनि निर्माण व्यवसायीको लापर्बाहीका कारण सडक अलपत्र परेपछि तत्कालीन सरकारले २०८० जेठमा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्द गरेको थियो ।