राधा लुइटेल
फिदिम, असोज ८ गते । पाँचथर जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ । हिन्दूहरुको महान चाड दसैँ, तिहार, छठ लगायतका पर्वहरू नजिकिँदै गर्दा शान्ति सुरक्षा कायम गर्न विशेष व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा अशान्ति फैलाउने जुवा–सट्टेबाजी, लठ्ठबाज खेल, खैलाबैला, पटका, आतसबाजी जस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ । साथै, वातावरण प्रदूषण गर्ने कार्य, मदिरा तथा मादक पदार्थको दुरुपयोग, अवैध पसल र वितरण, चाडपर्वमा बहाना बनाई गरिने सामाजिक सद्भाव र अनुशासन विपरितका गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहि गर्ने जनाएको छ ।
चाडपर्वका अवसरमा धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यमा जनसहभागिता बढ्ने भएकाले परम्परा, संस्कृति र सामाजिक सद्भावलाई सम्मान गर्दै मर्यादित तरिकाले पर्व मनाउन समेत प्रशासनले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले अपरिचित, शङ्कास्पद गतिविधि वा व्यक्तिहरू देखिएमा तुरुन्तै नजिकैको सुरक्षा निकाय वा जिल्ला प्रहरी कार्यालय, पाँचथर ०२४–५२१९९९ वा १०० मा सम्पर्क गरी जानकारी दिन अनुरोध गनुइ भएको छ ।