• ८ असोज २०८२, बुधबार

गिट्टी कुटेर दसैँखर्चको जोहो

blog

कालीकोटको रास्कोट नगरपालिका–८ का ६८ वर्षीय जय लुवार र होइजाली लुवार गिट्टी कुटेर दसैँखर्च जोहो गर्नुहुँदै ।

कालीकोट समाचारदाता 

कालीकोट, असोज ८ गते । कालीकोटको रास्कोट नगरपालिका–८ का ६८ वर्षीय जय लुवार र होइजाली लुवार गिट्टी कुटेर दसैँखर्च जोहो गर्न लाग्नुभएको छ । 

बुढेसकालमा छोराहरूले वास्ता नगरेपछि चाडपर्वको खर्च जुटाउन उहाँहरू सडक किनारमा बसेर गिट्टी कुट्न थाल्नुभएको छ । जयको त सामाजिक सुरक्षा भत्ता पनि आउँछ तर श्रीमती होइजालीको भत्ता आउँदैन । 

दसैँको बेला मासु किन्न र आएका पाहुनाको सत्कार गर्न एक महिनाअगाडिदेखि गिट्टी कुट्न लागेको लुवार दम्पतिको भनाइ छ । दसैँ नजिकिँदै गर्दा जिल्लाका धेरै परिवारको घरमा चहलपहल देखिँदै छ । यो दम्पती भने दसैँखर्च जुटाउन दिनरात गिट्टी कुट्न विवश छ । दसैँमा घरमा बालबालिकालाई नयाँ लुगाफाटा, मिठा मिठा परिकार खाने इच्छा भए पनि आर्थिक अवस्था कमजोर भएकाले तिनका लागि गिट्टी कुट्नु नै मुख्य विकल्प बनेको छ । 

उनीहरूले यो समयमा मात्र होइन, दुई दशकदेखि ढुङ्गा फुटाएर जीवनयापन गर्दै आएको जयले बताउनुभयो । जयले भन्नुभयो, “पैसा नभए कसरी दसैँ मनाउने ? गिट्टी कुटेर जो कमाइ हुन्छ, त्यसैले दसैँमा केही किनमेल गर्छौं ।” शारीरिक रूपमा कमजोर हुँदै गएको यो दम्पती दिनभर घाम, धुलो र ढुङ्गासँग बिताएर मात्र साँझतिर थोरै आम्दानी गर्न सक्ने अवस्थामा छ ।