शशिधर पराजुली
विराटनगर, असोज ८ गते । कोशी प्रदेशको प्रदेश सभा बैठक बोलाउने विषयमा मङ्गलबार बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधि दसैँअगाडि प्रदेश सभा बैठक नबोलाउन सहमत भएका छन् ।
जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको कोशी प्रदेशको प्रदेश सभा हलमा तत्काल बैठक बस्न नसकिने भएकाले उपयुक्त स्थान खोजी गरेर मात्र बैठक बोलाउनुपर्ने दलका नेताहरूले सुझाएका थिए । त्यससँगै सरकारले बैठक बस्न सकिने वैकल्पिक स्थान खोजी गर्न थालेको छ ।
बैठकमा विराटनगरसँग सिमाना जोडिएको कटहरी गाउँपालिकामा रहेको कृृषि बजारको भवन र विराटनगरको वीरेन्द्र सभागृहलाई विकल्पका रूपमा प्रयोग गर्नेबारे छलफल सुरु भएको छ । कृषि बजार प्रदेश सरकारमातहत रहेको संरचना हो भने सभागृह विराटनगर महानगरपालिकाको स्वामित्वमा छ ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र प्रदेश सभा बोलाउने या नबोलाउने भन्ने विषयमा मङ्गलबार कोशी प्रदेशका राजनीतिक दलहरूबिच छलफल भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको बैठकले तत्काल प्रदेश सभा बैठक बोलाउन सक्ने अवस्था नरहेको निष्कर्ष पनि निकालेको छ । बैठकले दसैँअघि प्रदेश सभा अधिवेशन बोलाउन असम्भव रहेको भन्दै दसैँपछि मात्रै अर्को बैठक बसेर निर्णय लिने सहमति गरेको छ ।
बैठकले उपयुक्त सभा हलको वैकल्पिक व्यवस्था तत्काल गर्न र त्यसका लागि आवश्यक बजेटको प्रबन्ध मिलाउन प्रदेश सरकारलाई सुझाव दिने निर्णय गरेको छ । बैठकमा सहभागी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले भन्नुभयो, “प्रदेश सभाको बैठक अब कहाँ गर्ने भन्ने नै समस्या छ । यसले गर्दा पनि तत्कालै प्रदेश सभा बैठक बोलाउन सक्ने अवस्था छैन ।”
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पनि दसैँअघि बैठक बस्न सक्ने परिस्थिति नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्व नजिकिएको र सभा हलको व्यवस्थापन नभइसकेको अवस्थामा तत्काल बैठक बोलाउनु सान्दर्भिक नहुनेमा दलहरू सहमत देखिए । बैठकमा मोरङको कटहरीस्थित कृषि बजार, विराटनगरको वीरेन्द्र सभागृह र अरू सम्भावित स्थानका बारेमा छलफल भएको छ ।”