• ८ असोज २०८२, बुधबार

नामेट भयो बस्ती विकासको इतिहास

blog

आगजनीबाट नष्ट भएको मालपोत कार्यालय चितवनको अवस्था । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, असोज ८ गते । चितवनको बस्ती विकासमा भएको जग्गासम्बन्धी प्रमाणपुर्जा जेनजी समूहको आन्दोलनका क्रममा गरिएको आगलागीमा जलेर नष्ट भएको छ ।  बस्ती विकास लागि जङ्गल फँडानी गर्न दिएको अनुमतिपुर्जा, त्यही पुर्जाका आधारमा गरिएको जग्गाको नापजाँचको प्रमाण र त्यसैको आधारमा खडा गरिएका थुप्रै प्रमाण नष्ट भएका छन् । भदौ २४ गते मालपोत कार्यालयमा भएको आगजनीले चितवन जिल्लाको जग्गासम्बन्धी इतिहास नामेट भएको हो । 

मालपोत कार्यालय चितवनका प्रमुख रमेशप्रसाद गौतमले भन्नुभयो, “चितवनको बस्ती विकासमा जङ्गल फँडानी गर्न दिएको अनुमतिपुर्जा, पुर्जाका आधारमा गरिएको फँडानी र जग्गाको हदबन्दीका सम्पूर्ण कागजपत्र जलेर खरानी भएका छन् । यी प्रमाण कहीँ कतै अर्को माध्यमबाट सुरक्षित राखिएको थिएन ।” 

चितवनको बस्ती विकासमा राप्ती दुन एकीकृत विकास आयोजनाले विसं २०१३ मा जङ्गल फँडानी गर्न अनुमतिपुर्जा वितरण गरेको थियो । पुर्जा पाउने व्यक्तिले जङ्गल फँडानी गरेर जमिन ओगटेका  थिए । त्यसरी ओगटेको जग्गाको चारकिल्ला नापजाँच गरिएको थियो । सबै कागजपत्र मालपोत कार्यालय चितवनमा सुरक्षित राखिएको थियो । विसं २०२६ मा त्यही पुर्जाका आधारमा जग्गा नापजाँच गरेर प्रमाणपत्र दिएको कार्यालय प्रमुख गौतमले बताउनुभयो । यसरी यहाँको जग्गासम्बन्धी इतिहासको प्रमाण नामेट भएको उहाँले बताउनुभयो । 

विसं २०७२ मा आएको भूकम्पका कारण जीर्ण भएको भवनमा काम चलाउका रूपमा कार्यालय सञ्चालनमा आएको थियो । भूकम्पपछि गरिएको भवनको अवस्थाको परीक्षणमा बस्न अयोग्य भनी रातो स्टिकर लगाइएको भवनमा मालपोत कार्यालय सञ्चालन भइराखेको थियो । सोही भवनमा भदौ २४ गते आगलागी भएपछि अहिले भवनका भित्ता र ढाल उप्किएर झर्न थालेको कार्यालय प्रमुख गौतमले जानकारी दिनुभयो । भवनको आसपास जाने अवस्थासमेत नभएको उहाँले बताउनुभयो । “भवनभित्र पसेर सरसफाइ गर्न सकिने अवस्था छैन । कार्यालयबाहिर मात्रै सरसफाइ गरिएको छ । लेखापढी बस्ने टहरोमा कार्यालय सञ्चालन गर्न सकिन्छ कि भन्दै तयारी गर्न थालेका छौँ । जग्गासम्बन्धीका विसं २०७८ अगाडिका सबै अभिलेख जलेकाले काम गर्न ज्यादै कठिन भएको छ,” उहाँले भन्नुभयो । 

विसं २०७८ पछि बायोम्याट्रिक विधि सुरु भएकाले अभिलेख पाइन्छ । त्यसभन्दा अगाडिको विषयमा काम गर्नुपर्दा ज्यादै संवेदनशील भएर गर्नुपर्ने भएको छ । जग्गाधनीले ल्याएको कागजपत्र नै अन्तिम प्रमाण हुने अवस्था आएको छ । सेवाग्राहीले ल्याएको प्रमाण र कार्यालयमा भएको प्रमाण भिडाएर हेर्ने अवस्था छैन । शङ्का लागेमा स्थलगत भ्रमण गरेर, वडाको प्रतिनिधि राखेर मात्र काम गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । कार्यालयले दसैँअगाडि कुनै पनि सेवा दिन सक्ने अवस्था नभएको प्रमुख गौतमले जानकारी दिनुभयो ।