नवराज नेपाली
बागलुङ (गलकोट), असोज ८ गते । बागलुङ नगरपालिका—१ खनियाबासका कृष्ण माझी ४२ वर्ष पुग्नुभयो । उहाँले अहिलेसम्म पनि आफ्नो घरमा जमरा राखेको देख्नुभएको छैन । दसैँ नमनाउने भएर जमरा नराखिएको होइन । उहाँ जान्ने भएदेखि नै घर परिवारले अन्तैबाट जमरा लिएर दसैँमा टिका जमरा लगाउँछन् । घरमा भने कहिल्यै जमरा राख्दैनन् । ‘‘हाम्रो घरमा जमरा राखेको मलाई अहिलेसम्म थाहा छैन,’’ माझी भन्नुहुन्छ, ‘‘हामीले जान्ने सुन्ने हुँदाको समय देखि नै जमरा राखेको थाहा छैन । आमाहरुले अरुकै घरबाट जमरा लिएर दसैँमा चढाउने र टिका जमरा लगाउने गरेका थाहा छ ।’’
घरमा जमरा किन नराखिएको भन्ने माझीलाई थाहा छैन । ‘‘हाम्रोमा जमरा राखिदैन क्यारे, सानैदेखि राखिएको थाहा भएन, किन नराखिएको भन्ने पनि थाहा छैन,’’ माझीले भन्नुभयो । त्यस्तै फुलमाया माझी पनि बिहे गरेर खनियाबास आउनुभयो । दसैँमा घरमा सासुससुराले जमरा राखेको उहाँलाई पनि थाहा छैन । ‘‘म त बिहे गरेर आएकी हुँ, माईतमा त हाम्रो जमरा राख्नुहुन्छ,’’ उहाँ भन्नुहुन्छ, ‘‘खै कुन्नी किन हो, यहाँ त जमरा नराख्ने चलन रहेछ ।’’ दसैँमा अरुकैबाट जमरा लिएर टीका लगाउने चलन छ । उहाँले पनि किन जमरा नराखिएको हो भन्ने बारेमा सोधी खोजी गरिराख्नुभएको छ ।
‘‘दसैँमा टिका लगाइन्छ, जमरा अरुकै बाट लिने चलन छ,’’ फुलमाया भन्नुहुन्छ, ‘‘खै किन यस्तो चलन रहेछ त्यो त मैले पनि सोधेकी छैन ।’’
‘‘अन्यत्र त राख्छन्, बलेवा, फलेवासतिर पनि माझीहरु घरमा जमरा राख्छन्,’’ फुलमया भन्नुभयो, ‘‘यही खनियाबास र मालढुङ्गामा जमरा नराख्ने चलन रहेछ ।’’
देउकली माझीलाई पहिले पहिले त घरमा जमरा नराख्दा दसैँ आए जस्तो पनि लाग्थेन । अहिले भने सामान्य लाग्न थालेको छ । ‘‘पहिला–पहिला त जमरा नराख्दा कस्तो कस्तो लाथ्यो,’’ उमेर साढे ६ दशक नजिक पुग्नुभएको देउकली माझी भन्नुहुन्छ, ‘‘अहिले त बानी परो । दसैँमा अर्कालाई नै मागेर भए पनि दसैँ मनाइन्छ । टिका जमरा लगाइन्छ ।’’ आइतबार घटस्थापना, हिन्दु धर्ममा आस्था राख्ने र दसैँ मनाउने सबैले घर घरमा जमरा छरेका छन् ।
तर यो पटक पनि बागलुङ नगरपालिका—१ खनियाबास र मालढुङ्गाका माझी समुदायले घरमा जमरा राखेनन् । घरमा जमरा नरोख पनि माझीहरुले दसैँ भने आफ्नो क्षमता र गक्ष अनुसार धुमधामसँगै मनाउँछन् । अर्काकै घरबाट जमारा लिएर भए पनि जमरा टीका लगाउने, मिठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा छ । जिजु बाजेको पाला देखि नै घरमा दसैँका लागि जमरा राख्न छोडिएको सोमबहादुर माझी बताउनुभयो ।
‘‘धेरै पहिला जिजु बाजेको बालमा त हाम्रो पनि जमरा राख्ने चलन थियो रे, त्यति खेर घरमा जमरा राख्दा जुन वर्ष जमरा राख्यो त्यो वर्ष घरकी कन्याको मृत्यु भएपछि जमरा राख्न छोडिएको रहेछ,’’ उहाँ भन्नुहुन्छ, ‘‘वर्षैपिच्छे जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको हो रे ।’’
जमरा राख्दा लगातार घर परिवारमा मानवीय क्षति हुन थालेपछि जमरा राख्न छोडिएको र दसैँको टीका मागेको जमराबाट काम चलाउने स्थानीय बलबहादुर माझीले बताउनुभयो । ‘‘दसैँ मनाउन छोडिएन, त्यसका लागि जमरा चाहियो, अरुलाई मागेर भए पनि दसैँ चाहिँ मनाइन्छ,’’ उहाँले भन्नुभयो । जिजु बाजेकै पालामा नराम्रो घटना भएर जमरा राख्न छाडेपछि दाजुभाई भित्र कसैले पनि जमरा नराख्ने गरेको बताइएको छ ।