• ८ असोज २०८२, बुधबार

बागलुङ भित्रिए च्याङ्ग्रा

blog

दसैँलाई लक्षित गर्दै व्यवसायीले बागलुङमा बिक्रीका लागि ल्याएका मुस्ताङ्गी च्याङ्ग्रा । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), असोज ८ गते ।
हिन्दु नेपालीहरुको महानचाड बडा दसैँ नजिकिएपछि मुस्ताङ्गी च्याङ्ग्रा बागलुङ भित्रिएका छन् ।

बागलुङका व्यवसायीहरुले दसैँलाई मध्यनजर गरेर बिक्रीका लागि मुस्ताङका च्याङ्ग्राहरु बागलुङ भित्र्याएका हुन् । बागलुङका व्यवसायी ज्ञानेन्द्र बहादुर कार्की र महेन्द्र केसीले दसैँलाई लक्षित गरेर ५९ वटा च्याङ्ग्रा जिल्लामा भित्र्याउनुभएको छ ।

दसैँमा च्याङ्ग्राको मासु खाने प्रचलन रहेकाले केसीले मुस्ताङ पुगेर च्याङ्ग्रा ल्याएको बताउनुभयो । “मुस्ताङको जोमसोमबाट च्याङ्ग्रा बागलुङ ल्याइएको हो,” उहाँले भन्नुभयो, “यस पटक २७ लाख ५० हजार रुपियाँ लगानीमा च्याङ्ग्रा ल्याएको हौं ।”

४० हजारदेखि ४८ हजार रुपियाँसम्म च्याङ्ग्रा बिक्री गरिरहेको कार्कीको भनाइ छ । उहाँले चेलुकलाई ४० हजार र च्याङ्ग्रालाई ४८ हजार रुपियाँमा रोजुवा बिक्री गरिरहेको बताउनुभयो ।

बागलुङ बजारमा मासु पसल सञ्चालन गर्दै आएका केसीले लामो समयदेखि दसैँ र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्ग्रा ल्याउने गरेको बताउनुभयो । केसीले दुई हजार दुई सय रुपियाँ केजीमा च्याङ्ग्राको मासु काटेर बिक्री गरिरहेको बताउनुभयो ।

च्याङ्ग्रामो मुल्य बढी रहेपनि माग पनि बढि नै रहेको केसीले बताउनुभयो । “मुस्ताङबाट ल्याउँदा धेरै दुःख छ”, उहाँले भन्नुभयो, “च्याङ्ग्राको माग उच्च छ । तर आयात थोरै हुँदा महँगो भए पनि बिक्री हुने गरेको छ ।” मुस्ताङबाट ल्याउँदा धेरै दुःख हुनेहुँदा थोरै नाफा राखेर बिक्री गरिरहेको व्यवसायी बताउँछन् ।

हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दसैँमा भेडाच्याङ्ग्रा खोज्ने गर्दछन् ।

मुस्ताङको छोसेरबाट व्यापारीले ल्याएको च्याङ्ग्रा मुस्ताङको सदरमुकाम जोमसोमबाट आफूहरुले खरिद गरेर ल्याएको व्यवसायी कार्कीले बताउनुभयो । महेन्द्र केसी र ज्ञान बहादुर कार्कीले हरेक वर्ष बागलुङ बजारमा मुस्ताङी च्याङ्ग्रा भित्र्याउँदै आउनुभएको छ ।

तीनदेखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ । दसैँ–तिहारमा च्याङ्ग्राको मासुुको खपत बढी हुने गर्छ ।