गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ८ गते । भारत र चीनले नेपाललाई सहयोग जारी राख्ने जनाएका छन् । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँगको बेग्लाबेग्लै भेटमा नेपालका लागि ती दुवै देशका राजदूतले सो जानकारी गराएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जनाउनुभयो । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारतबिचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पु¥याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिनुभयो । साथै नेपालमा विद्यमान परिस्थितिका कारण उत्पन्न भएको विषम अवस्थामा छिमेकी मुलुकलगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औँल्याउनुभयो ।
त्यस अवसरमा राजदूत श्रीवास्तवले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले दुई मुलुकबिच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरू नेपालको साथमा रहेको उल्लेख गर्नुभयो । उक्त अवसरमा राजदूत श्रीवास्तवले भारतीय सहयोगमा सञ्चालन भएका विकास आयोजना र कार्यव्रmममा तीव्र्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्रसमेतको मनोबल उच्च बनाउन आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको विचार व्यक्त गर्नुभयो । उक्त अवसरमा नेपाल भारतबिचको व्यापार सहजीकरणका लागि दुवै पक्षबिच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।
त्यसै गरी नेपालका लागि चीनका राजदूत चेङसोङसँगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताउनुभयो ।
मन्त्री खनालले नेपाल र चीन बैङ्किङ क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैङ्कको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्नसमेत राजदूत सोङलाई अनुरोध गर्नुभयो । राजदूत सोङले चीनले नेपाली जनताको छनोटलाई सधैँ सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले चीनको सहयोगमा निर्माणाधीन परियोजना सन्तोषजनक रूपले अगाडि बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीका लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासँग छुट्टै अन्तव्रिर्mया गरिनेसमेत जानकारी दिनुभयो ।