• ८ असोज २०८२, बुधबार

व्यास नगरपालिकाले अनाथ बालबालिकालाई दसैँमा घरसम्म पुर्‍याउँदै

blog

व्यास नगरपालिकाले सञ्चालन गरेको व्यास नगर समता विद्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असोज ८ गते ।
व्यास नगरपालिकाले स्थापना गरेको समता विद्यालयमा अध्ययन गर्ने अभिभावकविहीन बालबालिकाहरू यसपटक दसैँ आफ्नै घरमा परिवारसँग बिताउने अवसर पाउने भएका छन् । नगरपालिकाले बालबालिकाहरूका आफन्तसँग समन्वय गर्दै घरसम्म सुरक्षित पुर्‍याउने व्यवस्था गरेकाले अवसर पाएका हुन् ।

शिक्षिका पूर्णिमा रोकाले सबै बालबालिकालाई दसैँ मनाउन घरमा गएको जानकारी दिनुभयो । मावली, ठुलो बुबा, काका लगायत आफन्तको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो । दसैँको अवसरमा उनीहरू सुरक्षित र आरामसँग आफ्नै घर जाने व्यवस्था मिलाइएको छ ।  कक्षा ७ का विद्यार्थी इस्मोन अन्सारीले भावुक हुँदै भन्नुभयो, “म आफ्नो परिवारसँग दसैँ मनाउन पाउँदा धेरै खुशी छु ।  नगरपालिकाले सुरक्षित पुर्‍याउने व्यवस्था गरेकाले मनको डर हटेको छ ।”

नगरपालिकाले विद्यालयमा अध्ययनरत बालबालिकालाई निःशुल्क खाना, आवास र शिक्षा प्रदान गर्दै आएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भन्नुभयो, “बालबालिकाको हेरचाह मात्र हैन, उनीहरू घरसम्म सुरक्षित पुग्ने वातावरण बनाउनु पनि हाम्रो जिम्मेवारी हो । हामी चाहन्छौं बालबालिकाले आफ्नो परिवारसँग पर्व मनाउन पाउन् र शिक्षा पनि अवरोध बिना जारी राखुन् ।”

नगरपालिकाले बन्द भएको  वडा नम्बर ७ नरङ्गामा रहेको क्यामिन छापथोक प्राथमिक विद्यालयको मर्मत सम्भारमा ४० लाख खर्च गरी २०७९ भदौ ५ गतेदेखि व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याएको थियो । हाल विद्यालयमा ६४ जना बालबालिकाहरू कक्षा १ देखि ८ सम्म अध्ययनरत छन् । प्रधानाध्यापक अर्जुन सुनारले भन्नुभयो, “हामी प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्छौं । बालबालिकाहरू सुरक्षित, अनुशासित र खुसी महसुस गर्दा पढाइमा पनि उत्साह बढ्छ,  यसरी उनीहरू आफैंमा आत्मनिर्भर बन्न सिक्छन् ।”