कोकिला ढकाल
इलाम, असोज ८ गते । श्रमिक अभावले चिया टिप्न समस्या भएपछि चिया किसानले प्रविधिको सहारा लिन थालेका छन् । पछिल्लो समय इलामका किसानले चिया टिप्ने श्रमिक नै नपाउने र भेटिएका श्रमिकलाई पनि ज्याला बढी तिर्नुपर्ने भएपछि चिया टिप्ने मेसिन प्रयोगमा ल्याएका हुन् ।
दैनिक ११ जना श्रमिकले टिप्ने चिया एउटा मेसिनले एकै दिनमा टिप्ने गरेकाले मेसिन प्रयोग निकै सस्तो भएको किसानको अनुभव छ । “मेसिन प्रयोग गर्दा दुई जनाले काम गर्ने र काम पनि धेरै हुने भएकाले मेसिन नै सजिलो हुन थालेको छ ।” सूर्योदय नगरपालिकाका चिया किसान दिनेश श्रेष्ठले भन्नुभयो, “श्रमिक नहुँदा चिया हुर्केर नोक्सान हुन थालेपछि मेसिन प्रयोग गरिरहेका छौँ ।”
त्यसो त चियाबारीमा मेसिन प्रयोग गर्ने धेरै युवा हुने गरेका छन् । युवाले चिया टिपाइलाई आम्दानीको राम्रो बाटो पनि बनाएका छन् । प्रतिकिलो १५ रुपियाँका दरले गाउँघरमा चिया टिप्ने गरेको उनीहरू बताउँछन् । मेसिन किनेर चिया टिप्दै आएका माईजोगमाई गाउँपालिका लप्सीबोटेका युवा निर्मल काफ्ले दैनिक २५० किलोदेखि तीन सय किलो चिया मेसिनले टिप्ने गरेको बताउनुहुन्छ ।
आफैँ मेसिन चलाएर चिया टिप्दै आउनुभएका काफ्लेले विदेश जाने तयारी गरिरहेको भए पनि रोजगारीको सम्भावना गाउँमा पनि उत्तिकै रहेको बताउनुभयो । “सबै युवा शक्ति बिदेसिएको छ । छरछिमेकमा बालबालिका र बुढापाका मात्र देखिन्छ । बारी बाँझो छ, उत्पादन भएको कृषि उपजलाई टिप्ने र बजार पठाउने जनशक्ति छैन,” काफ्लेले भन्नुभयो “वास्तवमा गाउँको पीडा हेर्दा नछोड्नु जस्तो लाग्छ । विदेशमा पनि काम नगरी पैसा आउँदैन ।”
सोही स्थानकी तारा काफ्लेले पनि मेसिनको सहायताले चिया टिप्न थाल्नुभएको छ । चिया टिप्नका लागि श्रमिक नपाएकै कारणले मेसिन चलाउनु परेको ताराको भनाइ छ । पहिला पहिला पेट्रोलले चल्ने मेसिन आएका थिए । अचेल भने ब्याट्रीबाट चल्ने र चार्ज गर्न मिल्ने भएकाले हल्का मेसिन प्रयोग गर्न थालिएको प्रयोगकर्ता किसान बताउँछन् ।
पछिल्लो समय स्थानीय सरकारले नै चिया टिप्ने मेसिन अनुदानमा दिन थालेपछि किसानलाई सहज भएको उनीहरूको भनाइ छ । सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाले धेरै किसानलाई लागत साझेदारी गर्दै चिया टिप्ने मेसिन उपलब्ध गराएका छन् । चियामा श्रमिक अभाव र खेती किसानीमा प्रविधिको प्रयोगलाई बढाउन पनि नगरपालिकाले यस्ता प्रविधियुक्त वस्तु किसानलाई उपलब्ध गराउने नीति लिएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई बताउनुहुन्छ ।
त्यसो त तेस्रो मुलुक पठाउने चियाका लागि भने हातैले टिपेकोलाई उत्तम मानिन्छ । केही उद्योगले अहिलेसम्म हातैले टिपेर गुणस्तरीय चिया तयार गर्ने गरेका छन् । जनशक्ति अभाव भएपछि चिया टिपेका भन्दा चिया नटिपेका बगान बढी हुन थालेको चिया उद्योगी बताउँछन् ।
यता गुणस्तरीय चिया तयार गरेर तेस्रो मुलुक निर्यात गर्ने चिया उद्योगले भने हातले टिपेको हरियो पत्तीको मूल्य राम्रो दिने गरेका छन् ।