गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ८ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनको तयारी सम्बन्धमा छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते नै सम्पन्न हुने गरी निर्वाचनको तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभयो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले चुनावी सरकार भएकाले चुनाव कसरी गराउने र तयारी के कस्तो हुँदै छ भन्ने सम्बन्धमा आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनुभयो । छलफलमा प्रधानमन्त्री कार्कीले तोकिएको मितिमा निर्वाचन हुने/नहुने सम्बन्धमा संशय व्यक्त गर्नुभएको थियो ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको तयारीबारे एकदमै सहज वातावरणमा छलफल भएको जानकारी गराउँदै भन्नुभयो, “प्रधानमन्त्री निर्वाचन सकिन्छ कि सकिन्न भन्ने विषयमा द्विविधामा हुनुहुन्थ्यो । हामीले निर्वाचन हुन्छ भनेर विश्वस्त तुल्यायौँ ।”
आयोगका अनुसार छलफलमा प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको बताउनुभयो । उहाँले निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोतसाधन र जनशक्ति सरकारले उपलब्ध गराउने बताउँदै शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनका लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालासँग छलफल गर्ने धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले संशय व्यक्त गरेको सम्बन्धमा कानुनमन्त्री सिन्हाले भन्नुभयो, “चुनावी सरकार रहेको र मिति तोकिएकाले चुनाव गर्नैपर्ने हुन्छ । के कस्ता अवरोध छन् र कसरी हटाउन सकिन्छ भन्ने सम्बन्धमा विस्तृत छलफल भयो ।”
प्रधानमन्त्री कार्यालयमा आयोगका पदाधिकारीले करिब एक घण्टा बिताएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आयोग पदाधिकारीलाई आग्रह गर्नुभएको जानकारी दिनुभयो ।
प्रवक्ता भट्टराईका अनुसार कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन सामग्री मौज्दात रहेको र मौज्दातमा नभएका अन्य सामग्री प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने, राजनीतिक दललगायत सरोकारवालासँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । छलफलमा आयोगले निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्ति, स्रोतसाधनबारे जानकारी गरायो । प्रवक्ता भट्टराईले भन्नुभयो, “आयोगले प्रारम्भिक तयारीबारे जानकारी गरायो । सरकारसँग नियमित सम्पर्कमा रहेर तयारी र आवश्यकताबारे आगामी दिनमा थप छलफल गरिने छ ।”
सरकारले विदेशमा रहेका नेपालीले मतदान गर्ने व्यवस्था मिलाउन, मतदाता नामावली सङ्कलन कार्य अगाडि बढाउन तथा ‘कसैलाई मतदान गर्दिनँ’ जस्ता विषयलाई सम्बोधन गरेर निर्वाचनको तयारी गर्न आयोगलाई आग्रह गर्दै आएको छ । आयोगका प्रवक्ता भट्टराईले भन्नुभयो, “सरकारको चासो रहेको कानुनी सुधारका थप विषयमा अध्ययनको आवश्यकता छ । आयोगले आन्तरिक तयारी गर्दै छ ।” छलफलमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल; कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सिन्हा; गृहमन्त्री ओमप्रकाश अर्याल तथा कार्यवाहक प्रमुख आयुक्त भण्डारीसहित आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर र आयोगका सचिव महादेव पन्थ, सहसचिव नारायणप्रसाद भट्टराई सहभागी हुनुहुन्थ्यो ।
कार्की प्रधानमन्त्री नियुक्त भएकै राति भदौ २७ गते नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोक्नुभयो । यसअघि २०७९ मङ्सिर ४ गते आम निर्वाचन भएको थियो । प्रतिनिधि सभाले पूर्ण कार्यकाल बिताउन नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेनजी’ आन्दोलनका कारण भदौ २४ गते राजीनामा दिएपछि तीन वर्ष पाँच महिनामै प्रतिनिधि सभाको अर्को निर्वाचन हुन लागेको हो ।