• ८ असोज २०८२, बुधबार

दसैँमा यातायात

अग्रिम टिकट खुला तर छैन सुनिश्चित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ८ गते । बर्सातले भत्किएका राजमार्ग र त्यसमाथि बारम्बार पहिरो गएर ४८ घण्टासम्म जाम हुन थालेपछि दसैँका लागि अग्रिम टिकट काटेकालाई अघिल्लो दिनै निश्चित गरेर मात्र बसपार्क जान आग्रह गरिएको छ । नियमितभन्दा फरक रुटबाट पनि जानुपर्ने अवस्था भएकाले अग्रिम टिकट काट्नेलाई काउन्टरमै ब्रिफिङ गरिएको छ । 

असोज १२ गतेका लागि पाल्पाको अग्रिम टिकट काट्न मङ्गलबार गोङ्गबु नयाँ बसपार्क काउन्टर पुग्नुभएकी इन्दिरा रानालाई काउन्टरका कर्मचारी डिल्ली भुसालले भन्नुभयो, “टिकट त पाइन्छ । पाल्पा जाने गाडी दाउन्नेमा जाम हुने भएकाले पोखरा हुँदै पनि जान सक्छ । १२ गतेका लागि ११ गते कन्फर्म गर्नुहोला । टिकट लिएर जानू ।” 

सोमबार र मङ्गलबार जिल्लाबाट बस नआउँदा नियमित नम्बरका बस पठाउनसमेत गाह्रो भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले बताउनुभयो । सडकको दुरावस्था त्यसमाथि पहिरोका कारणले यात्रुले निकै सास्ती भोग्नुपरेको बताउँदै उहाँले भन्नुभयो, “काठमाडौँमा बसै आउन सकेका छैनन् । एकपछि अर्को पहिरो गएको छ । एक दिन मात्र अवरुद्ध भयो भने त्यसले धेरै दिनलाई असर गर्छ । यहाँ त दुई दिनसम्म अवरुद्ध भइरहेको छ ।”

यसरी अवरुद्ध हुँदा योजना अनुसार काम हुन नसक्ने र यात्रु तथा कर्मचारीले पनि सास्ती भोग्नुपरेको महासङ्घले जनाएको छ । पहिरो जाने सम्भावित क्षेत्रमा सुरक्षा र पहिरो हटाउने साधन तयारी अवस्थामा राखियो भने पनि धेरै सहज हुने स्वाँरको भनाइ छ । साथै यात्रुवाहक सवारीलाई प्राथमिकता दिएर ट्राफिक व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो । 

व्यवसायीले अग्रिम टिकट बुकिङलाई व्यवस्थित बनाएका छन् । यात्रुको चाप बढेपछि नियमित नम्बरबाहेकका बस थपिएको छ । गोङ्गबुस्थित नयाँ बसपार्कबाट मङ्गलबार अष्टमी (१४ गते) सम्मको अग्रिम टिकट काटिएको छ । सडक अवरुद्ध भएका कारण बस समयमा काठमाडौँ आइनपुग्ने समस्याले अन्योल भएको तर अग्रिम टिकटमा समस्या नरहेको महासङ्घले जनाएको छ । 

नियमित नम्बरका टिकट नवमीसम्मकै सकिएको छ । तर बस थपेर सेवा प्रवाह गर्ने गरी अग्रिम टिकट खुला भएको अध्यक्ष स्वाँरले जानकारी दिनुभयो । मुग्लिङ–नारायणगढखण्ड र नारायणगढ–बुटवलखण्ड पटक पटक अवरुद्ध भइरहेको र सप्तमी, अष्टमीसम्म पनि यस्तै अवस्था रहे निकै समस्या हुने उहाँको भनाइ छ । आफैँ चुनौती मोलेर वैकल्पिक सडक प्रयोग गर्दा दुर्घटना हुन सक्ने सम्भावना पनि भएकाले सरकारले विशेष ध्यान दिनुपर्ने बताइएको छ । 

घटस्थापनादेखि यात्रुवाहक सवारीको सङ्ख्या बढिरहेको नागढुङ्गा ट्राफिक प्रहरीले जनाएको छ । नियमित सञ्चालनको तुलनामा ३० प्रतिशतभन्दा बढीले सवारी चाप बढेको नागढुङ्गा ट्राफिक प्रहरीका इन्सपेक्टर किरण राउतले जानकारी दिनुभयो ।