• ८ असोज २०८२, बुधबार

सडक दुर्घटनामा सञ्चालक थापाको मृत्यु

blog

दुर्घटना भएको ठाउँमा अनुसन्धान गर्दै प्रहरी टोली । तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज ७ गते । नेपालगन्ज–१, धम्बोझीमा मङ्गलबार दिउँसो मोटर साइकललाई ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक कर्णबहादुर थापाको मृत्यु भएको छ ।  

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार मङ्गलबार दिउँसो करिब ३ बजेर २५ मिनेटमा भे. १२ प. ९४८७ नम्बरको पल्सर मोटरसाइकललाई भे. १ त. ७७८४ नम्बरको ट्याक्टरले ठक्कर दिएर कुल्चिदा भेरी आयलका सञ्चालक समेत रहनु भएका नेपालगन्ज–१ का थापाको घटनास्थलमै मृत्यु भएको हो । 

स्थानीय धम्बोझीको वाटरपार्क जाने बाटोमा सो घट्ना भएको जनाउँदै प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । 

नेपालगन्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले घट्ना निकै दुःखद भएको जनाउँदै भेरी आयलका सञ्चालक थापाको मृत्यु भएको र उहाँको शवलाई कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा राखिएको बताउनुभयो । 

मृतक थापाका छोरा भारतमा अध्ययन गरिरहेकाले उनी बुधबारसम्म मात्र फर्किने जानकारी आएकोले बुधबार नै शवको पोस्टमार्टम गरेर अन्तिम संस्कार गरिने वडाध्यक्ष रिजालले बताउनुभयो । 

उहाँले यसअघि केही दिन पहिले जेनजीको आन्दोलनमा पनि सोही वडाका दुई जना विद्यार्थी सहिद भएको जनाउँदै उनीहरूको पीडा ताजै रहेको बेला भएको यो घट्नाले वडावासी थप पीडित बनेको बताउनुभयो ।