गोविन्द शर्मा
बाँके, असोज ७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनमा घुसपैठ गरि सरकारी कार्यालयमा आगजनी,लुटपाट र तोडफोडमा संलग्नाको पहिचान गरि कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी,तोडफोड र लुटपाट गरिएका बाँकेका सरकारी कार्यालयहरुको मङ्गलबार स्थलगत अनुगमनपछि मुख्यमन्त्री आचार्यले भन्नुभयो , जेन्जी आन्दोलनको नाममा सरकारी सम्पत्ति जलाएर जनतालाई दुस्ख र पिडा दिनेलाई कारबाही गरि दन्डहिनता अन्त्य गर्न आवश्यक छ ।
मुख्यमन्त्री आचार्यले जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गर्नुभएको छ ।
प्रदेशसभा सदस्य रत्न खत्रीका अनुसार मुख्यमन्त्री आचार्यले नेपालगन्ज उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालय, कोहलपुर नगरपालिकासहित नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यलय पुगेर क्षेतीको जानकारी लिनुभएको छ । उहाँले प्रदेश सरकारले जलेका कार्यालय संचालनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले अत्यावश्यक सेवा नरोकिने बताउनुभयो । "कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोगको कार्य पनि अगाडि बढाइरहेका छौं । जेन्जी आन्दोलनको नाममा भएको घुसपैठले बाँके क्षेत्रका सरकारी संरचना ध्वस्त पार्ने काम भएको छ । जनतालाई दैनिक आवश्यक पर्ने कागजातहरू जलाउने काम भएको छ ।"
जेन्जी आन्दोलनको नाममा प्रदेशभर दुई सय बढी कार्यालयमा क्षति पुगेको छ । प्रदेशमा करिब दुई खर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र टेन्ट टाँगेर भएपनि सेवा प्रवाह गर्नेगरी व्यवस्था मिलाइएको जानकारी मुख्यमन्त्री आचार्यले दिनुभयो । अनुगमनमा आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवाल लगायतको सहभागिता थियो ।