जननेता मदन भण्डारी पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पिता देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारीका माहिलो छोराको रूपमा २००९ साल असार १४ गते जन्मनुभएको हो । गृह जिल्लामा सामान्य पढाइपछि उहाँले स्नातकोत्तर तहसम्मको शिक्षा बनारसबाट पूरा गर्नुभयो । मदन भण्डारी नेपाली राजनीतिका सर्वाधिक लोकप्रिय र जनताले मन पराएका नेता हुनुहुन्थ्यो । नेपालमा वामपन्थी शक्ति उदयको त उहाँ स्रोत नै बन्नुभयो । उहाँकै आदर्श र सिद्धान्तको बलमा नेपालमा कम्युनिस्ट शक्ति फस्टाए ।
कम्युनिस्टहरू दुई दिनका पाहुना होइनन्, समाज रूपान्तरणका संवाहक हुन् भन्ने उहाँको भनाइ आज पनि उत्तिकै गर्विलो छ । विश्वभर कम्युनिस्ट आन्दोलन धर्मराएका बेला नेपालमा कम्युनिस्ट शक्तिको उदयमा नेता भण्डारीको योगदानको राजनीतिक वृत्तमा निकै चर्चा हुने गर्छ । नेपाली कम्युनिस्ट राजनीतिलाई उचाइमा लैजान उहाँले आफैँ जनताको बहुदलीय जनवाद (जबज) को विकास गर्नुभयो । त्यही सिद्धान्तको बलमा नेपालको कम्युनिस्ट आन्दोलन मात्र होइन समग्र नेपाली राजनीतिले प्रेरणा लिने अवसर पायो । उहाँको निधन भएको आज करिब तीन दशक पुग्नै लाग्दा उहाँले प्रतिपादन गर्नुभएको जबजको सान्दर्भिकता उत्तिकै छ ।
जननेता भण्डारी जनताको मनमा बस्नुहुन्थ्यो । भाषणमा होइन, व्यवहारमै पुष्टि गर्न गाउँगाउँमा जनताको सामीप्यतामा बस्न रुचाउनुहुन्थ्यो । राजनीति जनताको हितका लागि गरिनुपर्छ नकि आफ्नो स्वार्थका लागि भन्ने उहाँको मूल उद्गार थियो । त्यसैले पनि उहाँ जनताकै घर आँगनमा रमाउनु हुन्थ्यो । सुख दुःखमा साथ दिनुहुन्थ्यो । जनताको हित र चाहना परिपूर्ति गर्नमै उहाँले सम्पूर्ण ध्यान केन्द्रित गर्नुभयो । आफ्नो जीवन समर्पित गर्नुभयो । जनताप्रतिको उहाँको त्यो समर्पण देखेर त्यतिबेलाका समकालीन नेताहरू कोही खुसी भए, कोही डाह गर्थे । नेपालमा मात्र होइन, बाह्य मुलुकमा पनि उहाँको कार्यशैली र व्यवहारको चर्चा चुलियो ।
जनताका शत्रुहरूप्रति जिउँदो बाघजस्तै गर्जने तथा मजदुर किसान शोषित पीडितहरूका लागि आँखाको नानीजस्तै बन्नुभयो नेता भण्डारी । त्यतिबेला राजसंस्थालाई टुँडिखेलबाट ठाडै चुनौती दिनु चानचुने विषय थिएन । उहाँले त्यो आँट गर्नुभयो । राजालाई निर्वाचनको प्रतिस्पर्धा गर्न आउन चेतावनी दिनुभयो । समकालीन नेताहरू कसैमा पनि त्यो तहको आँट र साहस देखिएन । भनिन्छ– मदन भण्डारी परिवर्तनकारी हुरी बतास भएर आउनुभयो, गाउँबस्ती चलायमान गरेर जानुभयो । आफ्नो कामले जनतामाझ निकै चर्चा बटुल्नुभयो । त्यही देखेर अमेरिकी पत्रिका न्युजवीकले लेख्यो ‘कार्ल माक्र्स लाइव इन नेपाल’ । अर्थात् कार्ल माक्र्स नेपालमा जीवित छन् ।
मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनको प्रखर अगुवा र कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार बन्नुभयो । उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपले मार्गदर्शन मात्र दिएन, जनताको हित र शान्तिपूर्ण परिवर्तनको रोडम्याप नै बन्यो । सामन्तवाद विरोधी आन्दोलनका अगुवा र गणतन्त्रका प्रबल पक्षधर भण्डारीले अघि सार्नुभएको विचारलाई आधार मान्दै नेपालका कम्युनिस्ट शक्तिहरू अहिले चलायमान छन् । उहाँकै योगदानको ब्याज खाएर जनताबाट मत बटुलिरहेका छन् । त्यतिबेला उहाँका धुरन्धर विरोधीहरू अहिले उहाँको प्रशंसा गरेर थाक्दैनन् । आज भण्डारी जीवित रहनुभएको भए नेपालको राजनीतिक परिवर्तन कस्तो हुन्थ्यो ? राजनीतिक वृत्तमा चर्चा र अड्कल काट्ने धेरै छन् ।
जननेता भण्डारी पढाइमा तेज हुनुहुन्थ्यो । जनताका लागि, देशका लागि राजनीति गर्ने नेता अब्बल र क्षमतावान् हुनुपर्छ भन्ने उहाँको विचार थियो । सिर्जनात्मक सोच र कार्यशैलीले मात्र आमनेपालीको जीवनस्तर बदल्न सक्छ भन्नुहुन्थ्यो । नेताले जनताको जीवनका लागि आफूलाई बदल्न सक्नुपर्छ, आफ्नो स्वार्थलाई तिलाञ्जली दिनुपर्छ उहाँको सोच थियो । सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रखर व्यवहारवादी नेताको रूपमा दरिनुभएको थियो । अनुशासन र लगनशीलता उहाँको जीवनको प्रमुख विशेषता थियो ।
नेता भण्डारी राजनीतिमा मात्र नभएर साहित्य क्षेत्रका सशक्त हस्ताक्षर हुनुहुन्थ्यो । उहाँको साहित्यिक सिर्जना त्यत्तिकै सबल र मन छुने छन् । सिर्जनामार्फत समाज रूपान्तरण गर्न सकिन्छ भन्ने उहाँको बलियो ध्येय रहेको देखिन्छ तर उहाँको राजनीतिक व्यक्तित्वको जति चर्चा हुन्छ, साहित्यिक पाटोको चर्चा कम हुने गरेको छ । राजनीतिक जीवनको थालनी हुनुअघि उहाँको साहित्यिक जीवन थियो । उहाँको सिर्जनामा युगीन र कालजयी थिए । दूरगामी प्रभाव पार्नेखालका थिए । प्रखर परिस्कृत कवित्व क्षमता उहाँको जीवनमा लुकेको विशेषता हो ।
जुन नेपाली साहित्यिक फाँटले चर्चा गर्न सकेको छैन । आफ्नो रचनामा देश, जनता र मानवीय पक्षको चित्र उतार्न सक्ने खुबी उहाँमा थियो । उहाँद्वारा रचित साहित्यिक रचनाले मानव विकास र समाज रूपान्तरणका चेत बोकेका थिए, जुन चीरकालसम्म जीवन्त र पठनीय रहनेछन् । प्रवासमा रहँदा उहाँको व्यक्तित्व साहित्यिक रचनाकारमा परिचित थियो । उहाँका समकालीन नेताहरू भण्डारीलाई प्रखर साहित्यिक व्यक्तित्वको रूपमा चिन्थे । उहाँमा रहेको अद्भूत साहित्यिक क्षमताको मुक्तकण्ठले प्रशंसा गर्ने गर्थे ।
नेता भण्डारी किसान, शोषित पीडित जनताको आवाज बनेर उदाउनुभयो । नेपालबाट शोषण, उत्पीडनको अन्त्य नभएसम्म नेपाली जनताको मुक्ति सम्भव हुँदैन र जनता शोषणबाट मुक्त नहुँदासम्म नेपाल बन्दैन उहाँको राजनीतिक जीवनको बटमलाइन थियो । शोषित, पीडित जनताको मुक्तिका लागि उहाँ सशस्त्र आन्दोलन गर्न पनि तयार हुनुभयो । आफ्नो जीवनकालमा लामो समय भूमिगत रहेर तत्कालीन शासन व्यवस्थाविरुद्ध अभियान चलाउनुभयो ।
जननेता भण्डारीमा अलग विशेषता थियो । जनता र देशको स्वार्थलाई उहाँ जहिले केन्द्रमा राख्नुभयो । आर्थिक पारदर्शिता उहाँको अर्को विशेषता थियो । सङ्गठनको नेतृत्व गर्दा होस् या दलको नेतृत्व गर्दा होस् उहाँले आर्थिक पक्षलाई पारदर्शी बनाएर नेतृत्व गर्नुभयो । आफ्नो जीवनकालमा आर्थिक पक्षमा उहाँ विवादमा तानिनु भएन ।
राजनीतिक विचार र कार्यशैलीले समकालीन नेताहरूबीच अनेक मतभेद भए तथापि आर्थिक पक्षमा उहाँमाथि कसैले औँला ठड्याएको भेटिँदैन । पार्टीको महासचिवजस्तो पदमा रहँदा पनि उहाँ डेरामा बस्नुभयो, काठमाडौँमा घर बनाउनु भएन । आलिसान जीवन जिउने सोच पनि मनमा आएन । उहाँको लवाइखवाइ सामान्य थियो । जनताबीच जाँदा उहाँ धेरैजसो पैदल हिँड्नुहुन्थ्यो । जनतासँगै घुलमिल भएर बस्न रुचाउनुहुन्थ्यो ।
पुष्पलालले कम्युनिस्ट पार्टी गठन गर्नु भए पनि त्यसमा सिद्धान्त र प्राण भर्ने काम नेता भण्डारीले गर्नुभयो । त्यसबेला पुष्पलाल र भण्डारीबीच अनेक कुरामा मतभेद पनि भए । नेपालका कम्युनिस्ट शक्तिलाई एक ठाउँमा ल्याउने र बहुदलीय व्यवस्था स्थापनाका निम्ति सबै परिवर्तनकामी शक्तिहरूलाई जोड्ने अभियन्ताका रूपमा पनि नेता भण्डारीले भूमिका निर्वाह गर्नुभयो । तत्कालीन निरङ्कुश एकदलीय शासन व्यवस्थाको अन्त्य गर्न बहुदलीय व्यवस्थाका पक्षधर शक्ति एक ठाउँ आउन अपरिहार्य भएको बुझाइ उहाँको थियो ।
भण्डारी छोटो जीवन जिउनुभयो तर आफूलाई नेपाली जनतामाझ स्थापित गर्नुभयो । नेपाली जनताको मनमा बस्न सफल हुनुभयो । जनताको दुःखलाई आफ्नो दुःख सम्झेर समाधानार्थ प्रयास गर्ने गुण थियो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई दिशाहीन हुन दिनुभएन । कम्युनिस्ट शक्तिलाई जनताले मन नपराइरहेका बेला जनतामाझ स्थापित गराउनुभयो । यो चानचुने कुरा थिएन । आजका राजनीतिक नेतृत्वहरूले नेता भण्डारीको कामको गुणगान त धेरै गाएका छन् तर उहाँले देखाएको बाटो हिँड्न भने सकेका छैनन् ।