• २८ वैशाख २०८१, शुक्रबार

स्कुल बसले किच्दा विद्यार्थीको मृत्यु

blog

उर्लाबारी, असार १४ गते। मोरङको रङ्गेलीमा मङ्गलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ।अर्का एक विद्यार्थी  गम्भीर घाइते भएका छन्।  

रङ्गेली–७ स्थित माउण्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले  दिउँसो करिब साढे ३ बजेतिर सोही विद्यालयमा अध्ययनरत दुई बालबालिकालाई किचेको थियो। 

स्कुल छुट्टी भएपछि विद्यार्थी बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रित  भएर किच्दा रङ्गेली–७ का महादेव मण्डलका  ४ वर्षीय  छोरा  रिपिक  मण्डलको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा रंगेली–६ चोप्राहाका  नरेश मण्डलकी पाँच वर्षीया छोरी सोनमकुमारी मण्डल गम्भीर घाइते भएकी छन्। सोनमको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। 

विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। आक्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। 

आक्रोशित स्थानीयले स्कुलका दुई वटा गाडीमा तोडफोडसमेत गरेका छन्। अहिले  बजार क्षेत्रमा स्थानीयले नारा जुलुस गरिरहेका छन्।

 थप दुर्घटना हुन नदिन  यतिबेला बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।प्रहरीले अनुसन्धानका लागि बस चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।