शशिधर पराजुली
विराटनगर, असोज ५ गते । विराटनगर महानगरपालिकाले आइतबारबाट सेवा प्रवाह औपचारिक रूपमा सुचारु गरेको छ । महानगरबाट प्रवाह हुँदै आएका सेवाहरूमध्ये निश्चित सेवाहरूलाई सुचारु गरिएको र क्रमशः थप सेवाहरू सञ्चालन गर्दै लैजाने तयारी महानगरपालिकाको छ ।
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको मुख्य प्रशासनिक भवन र १९ मध्ये १३ वटा वडामा क्षति पुगेको थियो । महानगरपालिकाको मुख्य प्रशासनिक भवन जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने क्षति पुगेका १३ मध्ये ६ वटा वडा कार्यालयहरू आगजनीका कारण पूर्ण क्षति भएको महानगरपालिकाले जानकारी दिएको छ ।
यद्यपि महानगरपालिकाले विस्तारै सेवा प्रवाहलाई सामान्य बनाउने प्रयास थालेको हो । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार महानगर र अधिकांश वडाहरूमा भौतिक क्षति पुगे पनि स्वास्थ्य जस्ता अत्यावश्यक सेवाहरू कुनै पनि दिन रोकिएको छैन । अब अन्य अत्यावश्यक कामहरूलाई प्राथमिकतामा राखेर सेवा सुचारु गरिएको उहाँले जानकारी दिनुभयो ।
‘हामीले घटना भइरहँदा पनि २३ र २४ गते स्वास्थ्य सेवा बन्द गराएनौं । नगर अस्पताल रानीबाट दिइने स्वास्थ्य सेवा सुचारु नै थियो,’ उहाँले भन्नुभयो, ‘यद्यपि, २५ र २६ गते महानगरमा कुनै पनि काम हुन सकेन,’ उहाँले भन्नुभयो ।
हाल महानगरले अति आवश्यक सेवाहरूलाई पहिलो प्राथमिकतामा राखेको छ । उपप्रमुख कार्कीले विदेश जाने विद्यार्थी वा नागरिकका लागि चाहिने सिफारिस, स्वास्थ्य उपचारका लागि आवश्यक कागजात र अन्य तत्काल गर्नुपर्ने कामहरूलाई रोकिएको छैन । ‘हामीले मात्रै सेवा दिएर नहुने, सिडियो कार्यालयसम्म पुग्नुपर्ने सिफारिस जस्ता प्रक्रियागत कामहरू भने अहिले रोकिएका छन्, तर नागरिकका अति जरुरी काम अहिले पनि गरिरहेका छौं,’ उहाँले भन्नुभयो ।
आन्दोलनका क्रममा महानगरका १९ वडामध्ये १३ वटा वडा कार्यालयमा क्षति पुगेको छ । ६ वटा वडामा भने कुनै क्षति भएको छैन । उपप्रमुख कार्कीका अनुसार महानगरका वडा ४, ५, ६, ११ र १९ आगजनीबाट पूर्ण क्षति भएको छ भने अन्य वडाहरूमा तोडफोड गरी भौतिक पूर्वाधार र सामग्रीमा नोक्सान पुर्याइएको छ ।
क्षतिग्रस्त वडाहरूमा सेवा प्रवाह सहज बनाउन तत्कालका लागि प्रत्येक वडालाई दुई वटा डेस्कटप र एउटा प्रिन्टर उपलब्ध गराइएको महानगरले जानकारी दिएको छ । ‘हामीले वडाहरूलाई सेवा सुचारु गर्न निर्देशन दिइसकेका छौं र आजदेखि नै वडाहरूमा आवश्यक कामहरू सुरु भएका छन्’, उहाँले भन्नुभयो ।
महानगरले आफ्ना सबै शाखाहरूबाट क्रमशः सेवा विस्तार गर्ने योजना बनाएको छ । आइतबारदेखि राजस्व शाखाको काम सुरु भएको छ भने पर्सिबाट कानुन शाखाबाट दिइने सेवा पनि सुचारु गरिने छन् । कृषि शाखाबाट किसानलाई आवश्यक पर्ने मल, बिउ जस्ता सेवा पनि नरोकिने उहाँले स्पष्ट पार्नुभयो । दसैँपछि मात्रै महानगर पूर्णरूपमा पुरानै अवस्थामा फर्कन सक्ने उहाँको भनाइ छ ।
आगजनी र तोडफोडका कारण आर्थिक भार परे पनि नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरूको दसैँ भत्ता लगायतका सुविधामा कुनै कटौती नगरिने उपप्रमुख कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘हामीले नागरिक र कर्मचारीले पाउने कुनै पनि सेवा–सुविधा कटौती गरेर पुनर्निर्माण गर्दैनौं’, उहाँले भन्नुभयो, ‘यसका लागि महानगरको विपद् व्यवस्थापन कोषको प्रयोग गर्ने र अन्य योजनाको बजेट कटौती गरेर भए पनि व्यवस्थापन गर्ने छौं ।’
महानगरको पुनर्निर्माणका लागि स्थानीय उद्योगी, व्यवसायी र सङ्घ संस्थाहरूसँग छलफल सुरु गरिएको छ । उपप्रमुख कार्कीले भन्नुभयो, ‘यो विराटनगर बनाउने अभियान हो, हामी सबै मिलेर यो सङ्कटबाट पार पाउनुपर्छ भनेर हामीले सहयोगका लागि अपिल पनि गरेका छौं ।’
उहाँले आगामी दिनमा शनिबारको बिदामा पनि काम गरेर सेवा प्रवाहलाई सुचारु गर्न लागेको जानकारी दिनुभयो । ‘हामी शनिबारको बिदामा पनि काम गरेर सेवालाई छिटोभन्दा छिटो सुचारु गर्न लागिपरेका छौं । तपाईं हाम्रो साथले नै हामी फेरि महानगरलाई पुरानै लयमा फर्काउन सक्छौं,’ उहाँले भन्नुभयो ।