• १ असोज २०८२, बुधबार

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाईंदै

blog

स्थानीयले साझँ जलाउन बनाएको पुतना बुढी अर्थात् राक्षस पुतनाको पुतला । तस्बिर : केशब राज भट्ट ।

केशव राज भट्ट 

वाशुलिङ (बैतडी) असोज १ गते । सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाहरूमा आज धार्मिक श्रद्धा र सांस्कृतिक उत्साहका साथ बुढी पोल्ने पर्व मनाइँदैछ । 

हरेक वर्ष भाद्र सङ्क्रान्तिको दिन मनाइने यस पर्वलाई जनविश्वास, परम्परा र सामूहिक सहकार्यको प्रतीकका रूपमा लिने गरिन्छ।

स्थानीय परम्परा अनुसार बिहानैदेखि गाउँका बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्म सामूहिक रूपमा एकत्रित भई विभिन्न वनस्पति–फुर्केघाँस, तुसारो, बेल्डो, गर्ङलो, बाँस, झ्याङ तथा रुखका हाँगाबिँगाबाट ‘बुढी’ नामक पुतली तयार पारिन्छ । भदौ १ गतेका दिन बाटोबिच गाडेर राखिएको सो पुतलीलाई साँझपख सामूहिक रूपमा राँको बालेर पोल्ने प्रचलन रहेको छ ।

धार्मिक विश्वास अनुसार बालबालिकालाई विषालु दूध खुवाएर मार्ने प्रयास गर्ने राक्षसी ‘पुतना’ को प्रतीक मानिन्छ । पौराणिक किंवदन्ती अनुसार भगवान् श्रीकृष्णले सो राक्षसीको वध गरेपछि सत्यको विजयको स्मरणार्थ यस पर्वको सुरुवात भएको मानिन्छ । 

पाटन नगरपालिका–३ का पण्डित जनकराज भट्टका अनुसार, यो पर्वले असत्यमाथि सत्यको विजय र धार्मिक संस्कारको संरक्षण गर्ने सन्देश दिन्छ । यस पर्वमा बालबालिकादेखि वृद्धसम्मको सहभागितामा विशेष रूपमा तयार पारिएको बुढीलाई राँको बालेर सामूहिक रूपमा पोल्ने गरिन्छ । यस क्रममा गाउँलेहरूले काँक्रो चपाउँदै ‘‘थुई बुढी थुई” भन्ने चलन प्रचलित छ । 

पोलिसकेपछि बाँकी रहेको खरानीलाई घरको मूलद्वार, गोठ तथा गाईभैंसीको निधारमा दल्ने परम्परा छ । यसो गर्दा बिचञ्चली, रोगव्याधि तथा अपशकुन टर्छ भन्ने विश्वास रहिआएको सुर्नया गाउँपालिका–३ की देवकी भट्टले बताउनुभयो ।

बैतडीको मेलौली नगरपालिका–५ का ७८ वर्षीय हर्कबहादुर साउद भन्नुहुन्छ, "हाम्रा बाउबाजेले पनि यहीँ गरी मनाउनुहुन्थ्यो । बुढी पोल्दा गाउँले मिलेर राँको बाल्ने, खुसी साट्ने र रोग टार्ने विश्वास अझै कायमै छ ।”

यस अवसरमा कतिपय स्थानहरूमा देउडा, भुवा तथा सामूहिक नाचगानजस्ता सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको शिवनाथका सामाजिक अगुवा जानकी साउदले जानकारी दिनुभयो । उहाँका अनुसार यो पर्वले पुस्ता–पुस्ताबिचको सम्बन्ध बलियो बनाउनुका साथै मौलिक सांस्कृतिक सम्पदाको संरक्षणमा पनि टेवा पुर्‍याएको छ । 

यद्यपि पछिल्लो समय आधुनिकता, जनसङ्ख्या विस्थापन र व्यस्त जीवनशैलीका कारण यो पर्वमा पहिलेजस्तो व्यापक सहभागिता घट्दै गएको दोगडाकेदार गाउँपालिका–३ की पार्वती कार्की बताउनुभयो । तर पनि स्थानीय तह, विद्यालय र युवा क्लबहरूले यस पर्वको संरक्षण तथा प्रवर्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको पाइन्छ ।

सुदूरपश्चिमेली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सहकार्यको जीवित प्रतीकका रूपमा बुढी पोल्ने पर्वलाई आज पनि निरन्तरता दिइँदै आएको छ ।