गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक राष्ट्रिय शिक्षा दिवस नमनाउने भएको छ । जेनजी समूहको आक्रमणबाट मन्त्रालयलगायत थुप्रै सरकारी संरचना ध्वस्त भएका कारण दिवस मनाउन नसकिने मन्त्रालयले जनाएको छ ।
आगजनीबाट सिंहदरबारस्थित मन्त्रालयको भवन पनि क्षतिग्रस्त भएको छ । त्यहाँबाट तत्काल कार्यसम्पादन गर्न नसकिने अवस्था छ । यसअघि मन्त्रालयले शिक्षा दिवस मनाउन आवश्यक तयारी गरिसकेको थियो । प्रत्येक वर्ष असोज २ गते शिक्षा दिवस मनाउने गरिएको छ । मन्त्रालयले राष्ट्रियस्तरमा पदक तथा प्रमाणपत्र प्रदान गर्ने र केही पुरस्कार दिने कार्यक्रम तय गरेको थियो । मन्त्रालयका सचिव चूडामणि पौडेलले अप्ठ्यारो परिस्थितिका कारण यस पटक औपचारिक कार्यक्रम गर्न नसकिने बताउनुभयो ।
शिक्षा दिवसका अवसरमा औपचारिक शुभकामना दिने तर कुनै पनि प्रकारको कार्यक्रम नगरिने उहाँले बताउनुभयो । आगजनीका कारण मन्त्रालयले केही समय केशरमहलबाट कार्यसम्पादन गर्ने तयारी गरेको छ । आन्दोलनबाट मन्त्रालयको भौतिक संरचनामा असर गरेपछि केही समयका लागि केशरमहलबाट सेवा दिन लागिएको मन्त्रालयका सचिव पौडेलले बताउनुभयो ।
उक्त मन्त्रालय २०६८ सालमा सिंहदरबारमा सरेको थियो । सिंहदरबार सर्नुअघि पनि मन्त्रालयको काम केशरमहलबाटै हुन्थ्यो । आगजनीबाट सल्किएको आगोको मुस्लोका कारण फोहोर भएको सिंहदरबारमा रहेको उक्त मन्त्रालयको भित्ता, कार्पेट, कुर्सीलगायतका संरचना सरसफाइका लागि सात लाख रुपियाँ लाग्ने भएको छ ।
मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालका अनुसार सरसफाइ गर्ने निजी कम्पनीका प्रतिनिधिलाई राखेर अध्ययन गर्दा यो हिसाब निस्केको हो । सोही कम्पनीसँग सम्झौता गरेर काम अघि बढाउन लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त कम्पनीले कुनै संरचना बनाउँदैन तर भित्ता, सिँढी, कुर्सी, कार्पेटलगायतका संरचनामा लागेको धुवाँको कालो दाग हटाइदिने छ ।”