• ३१ भदौ २०८२, मङ्गलबार

सरकारी कार्यालय सञ्चालन

blog

जिल्ला प्रशासन कार्यालय सञ्चालनमा आएपछि नागरिकता वितरण गरिँदै । तस्बिर सौजन्य : जिल्ला प्रशासन कार्यालय

अविनाश चौधरी

धनगढी, भदौ ३१ गते । नवपुस्ता (जेनजी) आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट गरिएका कैलालीका सरकारी कार्यालय सञ्चालनमा आउन थालेका छन् । आन्दोलनकारीले आगजनी गरेपछि कार्यालय बन्द थिए भने कामकाज ठप्प भएको थियो । आगजनी भएका त्यस्ता कतिपय सरकारी कार्यालय सरसफाइ गरेर सर्वसाधारणलाई सेवा दिन थालिएको छ । धेरै क्षति भएका कतिपय सरकारी कार्यालय सञ्चालनमा आउन अझै केही दिन लाग्ने जनाइएको छ । 

तोडफोड र आगजनी गरिएको जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण सेवा सुरु गरेको छ । केही विद्यालयले कम्प्युटरलगायतका अत्यावश्यक सामग्री सहयोग गरेपछि सेवा दिन थालेको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आगजनीबाट उपकरण, कागजात सबै जलेर नष्ट भएको छ । केही नरहेकाले शून्यबाट सेवा सुरु गरेको जोशीको भनाइ छ । 

नागरिकताको अभिलेख, राहदानीको कागजात, मुद्दाको कागजात जलेर नष्ट भएको जनाउँदै उहाँले राष्ट्रिय परिचयपत्र र राहदानीको काम पनि चाँडै नियमित गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो । कैलाली भन्सार कार्यालय, कैलाली जिल्ला अदालतले पनि सेवा दिन थालेका छन् । आगजनीबाट कम्प्युटर, कागजातलगायतका सामग्री नष्ट भएको भन्सार कार्यालयले नजिक रहेको एउटा ग्यारेजबाट आफ्नो सेवा सुरु गरेको छ । ग्यारेज खाली भएकाले त्यसमा कार्यालय सञ्चालन गरेर पूर्ण रूपमा सेवा दिन थालेको भन्सार अधिकृत खिमप्रसाद अर्यालले बताउनुभयो । उहाँले बचेका पुराना र केही नयाँ सामग्री खरिद गरेर सबै सेवा दिन थालेको उल्लेख गर्नुभयो । 

कैलाली जिल्ला अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता, म्याद थप, जरुरी पक्राउ पुर्जीको स्वीकृति र पक्राउ अनुमतिसम्बन्धी काम सुचारु गरेको छ । अदालतबाट प्रवाह हुने मुद्दा दर्ता, नियमित पेसीका मुद्दा सुनुवाइ, तारिखलगायतका कामकारबाही भने हाललाई स्थगित रहेको स्रेस्तेदार चेतराज पन्तले जानकारी दिनुभयो ।यातायात व्यवस्था कार्यालय, भूमिसुधार तथा मालपोत, नापीलगायतका कार्यालयले भने अझै सेवा सुरु गर्न सकेका छैनन् । कम्प्युटर, प्रिन्टरलगायतका सामग्री तोडफोड र चोरी भएकाले सेवा प्रवाह गर्न अझै केही दिन लाग्ने यातायात व्यवस्था कार्यालयका अधिकृत चक्रप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले सवारीसाधनका कागजात नष्ट भएका कारण विभागको निर्देशन अगाडि बढ्ने उल्लेख गर्नुभयो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलनका क्रममा कैलालीमा सरकारी कार्यालय, निजी भवन र पार्टी कार्यालय गरी १३७ वटा भवनमा क्षति पु¥याइएको छ । तीमध्ये पाँच वटा कार्यालयमा पूर्ण क्षति भएको छ । प्रशासनले तीन वटा पूर्ण र दुई आंशिकसहित पाँच वटा प्रहरी भवनमा क्षति भएको जानकारी दिएको छ । यस्तै आठ आंशिक र चार सामान्य गरी १२ वटा सर्वसाधारणका निजी घरमा क्षति भएको छ । दुई पूर्ण, ७० आंशिक र ३१ सामान्य गरी १०३ वटा सरकारी कार्यालयमा क्षति पु¥याइएको छ । त्यस्तै ११ आंशिक र छ सामान्य गरी १७ वटा पार्टी कार्यालयमा क्षति भएको जनाइएको छ । 

यस्तै आन्दोलनकारीले ६७८ वटा सवारीसाधन जलाएका छन् । तिनमा चारपाङ्ग्रे ११४, मोटरसाइकल ५४३, साइकल १५ र तीनपाङ्ग्रे छ वटा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कर कार्यालय, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, भन्सार कार्यालयलगायतका सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए । 

प्रदेश सभा भवन, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय; भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलगायतमा आगजनी गरिएको थियो । नेपाल टेलिकम, विद्युत् प्राधिकरण, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कृषि ज्ञान केन्द्र, स्वास्थ्य कार्यालय, धनगढी उपमहानगरपालिकाको कार्यालयलगायत भने जोगिएका छन् ।