नेपालमा क्यान्सर रोग गम्भीर चुनौतीका रूपमा रहेको छ । यसले बिरामी र उनका परिवार मात्र होइन, समग्र समाज, अर्थतन्त्र र जनमानसको मनोबललाई समेत कमजोर बनाइरहेको छ । यस्तो संवेदनशील अवस्थामा क्यान्सरसम्बन्धी सचेतना फैलाउने, प्रारम्भिक परीक्षण तथा उपचार सुनिश्चित गर्ने र उपचारपछिको पुनस्र्थापनामा सहयोग पु¥याउने कार्य अत्यन्त आवश्यक छ । यस अभियानमा नेपाल अर्बुद रोग निवारण संस्था (एनसिआरएस) चार दशकदेखि निरन्तर सक्रिय रहँदै आएको छ । संस्था आजबाट ४३ औँ वर्षमा प्रवेश गरेको छ ।
ग्लोबल क्यान्सर अब्जरभेटरी २०२० का अनुसार नेपालमा प्रत्येक वर्ष करिब २७ हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन्, जसमा करिब २० हजार जनाको मृत्यु हुने गरेको छ । हाल देशभर ५५ हजारभन्दा बढी व्यक्ति क्यान्सरसँग सङ्घर्षरत छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्यान्सरलाई मृत्यु हुने प्रमुख पाँच रोगमध्येमा वर्गीकृत गरेको छ । नेपालमा पुरुषमा फोक्सो, आन्द्रा, घाँटी, प्रोस्टेट र कोलन क्यान्सर बढी देखिन्छ भने महिलामा पाठेघरको मुख, स्तन, अण्डाशय, फोक्सो र पित्तथैली क्यान्सर प्रमुख रूपमा देखा परेका छन् । धूमपान, मद्यपान, अस्वस्थ खानपान, मोटोपन, निष्क्रिय जीवनशैली तथा एचपिभी र हेपाटाइटिस बी र सी जस्ता भाइरल सङ्क्रमण क्यान्सरका प्रमुख जोखिम कारक हुन् । विभिन्न अध्ययन अनुसार नेपालमा आधाभन्दा बढी क्यान्सरका घटना प्रत्यक्ष वा परोक्ष रूपमा धूमपानसँग सम्बन्धित छन् ।
एनसिआरएसको स्थापना
विसं २०३९ मा नेपालमा क्यान्सरसम्बन्धी जनचेतना अत्यन्त न्यून थियो । रोग देखिए पनि बिरामी ढिलो मात्र अस्पताल पुग्ने र अस्पतालको पनि अभाव हुँदा उपचार जटिल हुने र मृत्युदर उच्च रहने अवस्था थियो । यस्ता चुनौतीपूर्ण परिस्थितिमा केही चिकित्सक तथा सामाजिक अभियन्ताको पहलमा नेपाल अर्बुद रोग निवारण संस्था (एनसिआरएस) को स्थापना भयो । संस्थाका संस्थापक अध्यक्ष जयन्ती राज्यलक्ष्मी देवी शाह हुनुहुन्थ्यो । उहाँले स्थापना कालदेखि २०५८/५९ सम्म अध्यक्ष पदमा रही संस्थालाई देशव्यापी अभियानका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । त्यसपछि विभिन्न व्यक्तिले संस्थाको नेतृत्व समाल्दै यसको विस्तार र सुदृढीकरणमा उल्लेखनीय योगदान पु¥याएका छन् । प्रारम्भदेखि हालसम्म विभिन्न व्यक्तिको निरन्तर समर्पणले एनसिआरएसलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरमै परिचित संस्था बनाएको छ । स्थापना कालदेखि नै संस्थाले तीन प्रमुख उद्देश्य तय गरेको छ ।
रोकथाममा योगदान
‘रोकथाम उपचारभन्दा उत्तम’ भन्ने नारालाई आत्मसात् गर्दै नेपाल अर्बुद रोग निवारण संस्था (एनसिआरएस) ले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालय, कलेज, सामुदायिक संस्था, महिला समूह तथा स्थानीय तहमा क्यान्सरका कारण, लक्षण र समयमै परीक्षणको आवश्यकतासम्बन्धी नियमित तालिम तथा गोष्ठी आयोजना गरिन्छ । धूमपान, मद्यपान, अस्वस्थ जीवनशैली, प्रदूषण तथा असुरक्षित आहार क्यान्सरका प्रमुख कारक हुन् भन्ने सन्देश समुदायसम्म पु¥याउन एनसिआरएसले प्रभावकारी जनचेतना अभियान सञ्चालन गरेको छ । त्यस्तै ‘स्क्रिनिङ क्याम्प’ मार्फत गर्भाशयको मुख, स्तन, मुख तथा प्रोस्टेट क्यान्सरको प्रारम्भिक परीक्षण गरिँदै आएको छ, जसबाट हजारौँ नागरिक लाभान्वित भइसकेका छन् । यसले रोग प्रारम्भिक चरणमै पहिचान भई समयमै उपचार सम्भव हुने सम्भावनालाई बलियो बनाएको छ ।
उपचारमा उपलब्धि
विगतमा नेपालमा क्यान्सर उपचारका लागि बिरामीलाई विदेश जानुपर्ने बाध्यता थियो, जसले आर्थिक रूपमा कमजोर वर्गका बिरामीको जीवन अकालमै अन्त्य हुने अवस्था सिर्जना गथ्र्यो । एनसिआरएसको निरन्तर प्रयासले अहिले देशमै आधुनिक उपचार सेवा विस्तार भएको छ । संस्थाले भक्तपुर क्यान्सर अस्पतालको स्थापना तथा सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । जहाँ रेडियोथेरापी, किमोथेरापी र शल्यक्रिया सेवा सहज रूपमा उपलब्ध छन् । साथै अन्य अस्पतालसँग सहकार्य गर्दै दक्ष चिकित्सक उत्पादन, प्रविधि हस्तान्तरण र उपचार प्रणालीको सुदृढीकरणमा पनि योगदान पु¥याउँदै आएको छ ।
हाल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर), त्रिवि शिक्षण अस्पताल (काठमाडौँ), बिपिकेआइएचएस (धरान), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके), काठमाडौँ क्यान्सर सेन्टर (भक्तपुर), नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर (ललितपुर) तथा पूर्वाञ्चल क्यान्सर अस्पताल (झापा) लगायतका सरकारी तथा निजी अस्पताल सक्रिय छन् । पाटन, वीर र निजामती अस्पतालमा पनि किमोथेरापी, रेडियोथेरापी तथा शल्यक्रिया सेवा उपलब्ध छ । उपचारमा सुलभता ल्याउन एनसिआरएसले सरकार, दातृ निकाय र जनसमुदायसँग सहकार्य गर्दै गरिब तथा विपन्न वर्गका बिरामीलाई राहत कार्यक्रम उपलब्ध गराउँदै आएको छ ।
पुनस्र्थापनामा पहल
क्यान्सरको उपचारपछि बिरामीले शारीरिक मात्र होइन, मानसिक, सामाजिक र आर्थिक कठिनाइसमेत भोग्नु पर्छ । एनसिआरएसले यस्ता बहुआयामिक चुनौतीलाई पहिचान गर्दै पुनस्र्थापनात्मक कार्यक्रम अघि बढाएको छ । संस्थाले ‘क्यान्सर सर्वाइभर ग्रुप’ गठन गरेर उपचारपछि जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न, आत्मविश्वास जगाउन तथा समाजमा पुनस्र्थापित हुन सहयोग पु¥याउँदै आएको छ । उपचारपश्चात् कपाल झर्ने, शरीर दुर्बल हुने वा अपाङ्गता आउने समस्यासँग जुध्न बिरामीलाई मनोपरामर्श, पेसागत तालिम तथा सामाजिक पुनः एकीकरणका अवसर उपलब्ध गराइएका छन् ।
अन्तर्राष्ट्रिय सहकार्य
क्यान्सर जस्तो जटिल रोगसँग लड्न कुनै पनि राष्ट्र एक्लै पर्याप्त हुँदैन । यही सन्दर्भमा एनसिआरएसले आफ्नो प्रारम्भिक चरणदेखि नै अन्तर्राष्ट्रिय सहकार्यलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । संस्थाले विश्व स्वास्थ्य सङ्गठन, युनियन फर इन्टरनेसनल क्यान्सर कन्ट्रोललगायतका अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै क्यान्सर नियन्त्रणका नवीनतम प्रविधि, अनुसन्धान परिणाम तथा उपचार विधि नेपालमा भित्र्याउने कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ । त्यस्तै भारत, चीन, जापान, अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका मुलुकका क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रसँग आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबाट नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्तर्राष्ट्रियस्तरको तालिम प्राप्त गरेका छन् भने विदेशी विज्ञहरूले नेपालमा आएर यहाँका स्वास्थ्य संरचनाको स्तरवृद्धिमा उल्लेखनीय योगदान पु¥याएका छन् ।
एनसिआरएसले स्थापना भएको ४२ वर्षको यात्रामा क्यान्सर रोगसम्बन्धी जनचेतना फैलाउने, आधुनिक उपचार सेवा उपलब्ध गराउने तथा उपचारपछिको पुनस्र्थापनासम्मका कार्यमा उल्लेखनीय योगदान पु¥याएको छ । यस संस्थाको अभियानले हजारौँ मानिसलाई नयाँ जीवनको आशा र अवसर प्रदान गरेको छ । क्यान्सरविरुद्धको यो लडाइँ दीर्घकालीन छ तर सामूहिक प्रयास, संस्थागत प्रतिबद्धता र सामाजिक उत्तरदायित्वका साथ अघि बढ्दा नेपाललाई क्यान्सरमुक्त समाजतर्फ डो¥याउन सकिने सम्भावना प्रबल छ ।